काठमाडौं, ४ साउन । अरुपण आर्ट ग्यालरीले अमेरिकाको वासिंटन डिसीमा बसोबास गर्दै आएका फल्स चर्च आर्टस्का सदस्य ‘प्लेन एयर कलाकार’ राजेन्द्र केसीसँग लाजिम्पाटमा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा कलाकार केसीले अमेरिकामा संघर्ष गर्ने, मिहिनेत गर्नेहरुको देश बताए । उनले धक नमानी मिहिनेत गरेर स्थापित कलाकारको रुपमा आफू रहन सकेको पनि बताए । उनले भने, ‘म एक प्लेन एयर’ अर्थात् खुल्ला स्थानमा बसेर चित्र बनाउने कलाकार हुँ । समय र वातावरणलाई मैले राम्रो गरेर क्यानभासमा उतार्न सकेँ भने म अगाडि बढ्ने रहेछु भन्ने ज्ञान भएपछि मैले निरन्तर रङ, ब्रस, क्यानभास र खुल्ला स्थानको परिवेशसँग संघर्ष गरेर हिँडिरहेको छु ।’
नेपालमा उनले दृश्यचित्रकारको रुपमा आफ्नो परिचय बनाएका थिए । अमेरिका पुगेपछि पनि उनले यसैलाई निरन्तरता दिए । सो अन्तरक्रिया कार्यक्रममा केसीसँग कलाकार तथा कलाका विद्यार्थीले खुल्ला वातावरणमा कला सिर्जना गर्दाका फाइदा र यसमा मानिसको क्रेजका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपालमा रहेर दृश्यचित्र बनाउने कलाकार डि राम पाल्पालीले दृश्यचित्रको आकर्षण र महत्वका बारेमा बोलेका थिए । साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ज्योप्रिकाश बिकेले कलाकार केसीका बारेमा बताएका थिए । रमेश खनालले नेपालमा खुल्ला वातावरणमा बसेर कला बनाउँदा यसको प्रभाव आम मानिसमा सहजै पर्ने बताएका थिए ।