३५ मा झमक : जीवन संघर्षले रुवाए शुभेच्छुकलाई !
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
no img

काठमाडौं, २१ असार । साहित्यकार झमक घिमिरेले राजधानीमा मंगलबार आफनो ३५औं जन्मदिन शुभेच्छुक तथा प्रशंसकसँग मनाएकी छन् । साहित्यकार झमकलाई जन्मदिनको शुभकामना प्रदान गर्नेको बाक्लो भीड लागेको थियो । उनलाई सुस्वास्थ्य र शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसमेत कार्यक्रममा सहभागी थिए ।

jhamak

कार्यक्रममा झमकै नामबाट स्थापित साहित्य कला प्रतिष्ठानले प्रकाशन गरेको उनको कवितासंग्रह ‘प्रेमिल आकाश’ को पनि विमोचन गरिएको थियो । झमकको यो १३ औं कृति हो । यस्तै, कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन पुरस्कार कृति ‘जीवन काँडा कि फूल’ को हिन्दी अनुवाद ‘जीवन काँटा या फूल’ र को पनि विमोचन गरे । यसै कार्यक्रममा झमकको आत्मकथाको कृतिमा आधारित फिल्मको अडियो क्यासेट पनि सार्वजनिक गरिएको थियो । फिल्मका निर्माता तथा र निर्देशक विनोद विष्टलगायत झमकको खुसीमा मिसिन दार्जिलिङ र सिक्किमबाट राजधानी आएका थिए ।

धनकुटाको कचिँडेमा बिक्र सम्बत ०३७ असार २१ मा जन्मिएकी झमक जन्मदिन मनाउँनकै लागि राजधानी आएकी हुन् ।
झमकको जीवनकथामा आधारित फिल्मको गीत प्रस्तुत गर्दा कार्यक्रममा सन्नाटा छाएको थियो । फिल्ममा झमक सानी छँदाको रोल खेलेकी सिलिगुडीकी अवस्था थापाले ‘मैले क लेख्न सिकेँ’ बोलको गीतमा अभिनय गरेकी थिइन् । मञ्चकै एक छेउमा बसेर हेरिरहेकी प्रधानमन्त्री पत्नीले त्यो दृश्य देख्दा आँशु थाम्न सकिनन् । अभिनयमार्फत झमकको जीवनको संघर्ष देखेर दर्शकदीर्घाको समेत आँखा रसाएको थियो ।

Bal-Ghamak

झमक सानी छँदाको अभिनय गर्दै सिलिगुडीकी अवस्था थापा ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सत्य र यथार्थवादी साहित्यिक व्यक्तित्व भएको भन्दै झमकको प्रशंसा गरेका थिए । उनले झमकलाई हौसलाभन्दा सबै प्रतिकूलताबीच संघर्षशील जीवन बाँचिरहेकी उनीबाट अरुले हौसला लिनुपर्ने बताए ।
आत्मकथाको पुस्तकलाई हिन्दीमा अनुवाद गरेका चन्द्रप्रकाश गिरीले झमकका अन्य कृति पनि अनुवाद गर्ने बताए । ‘जीवन काँडा कि फूल’ कृतिको अनुवाद संस्करण आएको हिन्दी पाँचौं भाषा हो । यसअघि यो पुस्तक अंग्रेजी, असमेली र चिनियाँ भाषामा प्रकाशित भइसकेको छ ।

Comments