सिद्धार्थ ग्यालरीमा मिथिला जनजीवन दर्साउने चित्रहरु
screennepal
प्रकाशित: २०७३, १० असार शुक्रबार
no img

काठमाडौं, १० असार । मिथिला जनजीवनका विविध आयाम र परिवेश झल्किने चित्रहरुको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छ । २ असारदेखि सुरु भएको यस प्रदर्शनीमा मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘इन्भेन्सन इन ट्याडिशन थर्ड’ शीर्षकका चित्रहरु राखिएका छन् । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रंग र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ ।

MY MARRIEGE DAY, 30 X 60 Inches, Oil on Canvas' 015
नारीका विविध पक्षलाई रंग र तुलिकाका माध्यमबाट पस्किदैं साहले मिथिला समाजको सांस्कृतिक तथा सामाजिक अवस्थाको चित्रण गर्ने प्रयास गरेको पाइन्छ । दिनदैनिकीका विषय, पे्रमिल र यौन मनोविज्ञानका विषयलाई समेत उनले कलात्मक रुपमा क्यानभासमा उधिनेका छन । ऐना अगाडि बसेकी नारी बिम्बका चित्रहरु कलाकारले धेरै बनाएका छन । त्यस्तै सुनौला माछा समातिरहेका नारी चित्र समेत उनले प्रदर्शनीमा राखेका छन ।

Festival_Oil On canvas_36X42 Inches_014
घैलामा पानी बोकिरहेकी नारीको चित्रमा मिथिला समाजको सामाजिक मनोदशालाई कलाकारले केलाउने कोसिस गरेको देखिन्छ । साहका चित्रमाथि टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकार भन्छन, ‘मिथिला क्षेत्रको लोककलालाई आधुनिक शैलीमा निकै कलात्मक रुपमा साहले पस्केका छन । आफनो सशक्त कलात्मक चेतनालाई सबलताका साथ क्यानभासमा साहले उतार्न सकेको देखिन्छ ।’
उमेशका कलामा मिथिला परिवेश र त्यसको सामाजिक अवस्थाको कलात्मक चित्रण भएको सिद्धार्थ ग्यालरीका सञ्चालक संगीता थापाले जनाइन । मिथिला समाजको विषयलाई क्यानभासमा उतारी गरिएको सो प्रदर्शनी असार १६ सम्म रहनेछ ।

Comments