‘केरमेट सपना’सँगै सकियो राष्ट्रिय नाटक महोत्सव
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

चरिकोट (दोलखा) । तरंग सांस्कृतिक परिषद् हेटौडाको ‘केरमेट सपना’ मञ्चनसँगै आईतबारबाट ‘राष्ट्रिय नाटक महोत्सब–२०७३’ समापन भएको छ ।
दोलखाको चरिकोटस्थित सिम्पानेको सामुदायिक हलमा २६ जेठबाट यो महोत्सव सुरु भएको यो महोत्सवको आयोजना नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको हो । महोत्सबको पाँचौ दिन आईतबारको पहिलो सत्रमा आरोहण गुरुकुल बिराटनगरले नाटक महादेबको सपना मञ्चन गरेको थियो भने दोस्रो सत्रमा केरमेट सपना मञ्चन भएको हो ।

drama photo (2)
प्रविण खतिवडाले निर्देशन गरेको महादेवको सपना नाटक लोककथामा आधारित थियो । नाटकको कथाअनुसार पृथ्वीमा घुम्न हिँडेका महादेव र किसानको भेट हुन्छ । शिवभक्त ती किशानको महादेबसँग बेलुका पानी पर्नेकी नपर्ने विषयमा बाजी हुन्छ । किशानले पानी पर्ने र महादेवले नपर्ने ठोकुवा गर्छन । अन्तत ः किशानले गरेको मेहनतका कारण पानी पर्छ । महादेबले बाजी हार्छन् ।
मेहिनेतको अगाडि भगवानको पनि केही लाग्दैन भन्ने सन्देश बोकेको यो नाटकमा दर्शकले निकै मनोरञ्जन लिए । नाटकमा मिलन नेपाली? सुनिता घिमिरे, प्रयाग न्यौपाने, मुकेश कर्ण, राजेश ठकुर, ममता महर्जन, अंकिता विश्वास, भरत कार्की, विकास पराजुली, रिया बुढाथोकी, अशोक गौतमको अभिनय थियो ।

drama photo (1)
आईतबारको दोस्रो सत्रमा मञ्चित नाटक ‘केरमेट सपना’लाई उज्ज्वल शर्मा भण्डारीले निर्देशन गरेका हुन् । हास्य प्रधान यो नाटकमा काठमाडौं उपत्यकामा संघर्ष गरेका मोफसलका मजदुरका कथा समेटिएको थियो । आर्थिक अभावमा संघर्ष गरिरहेका यस्ता मजदुरलाई रोग र भोकले गाँजेको प्रसँगले दर्शकलाई स्तव्ध समेत तुल्याएको थियो ।
लाल श्रेष्ठले लेखेको यो नाटकमा कुमार शाह, प्रलय चौलागाई, रामबहादुर थोकर, लक्ष्मण थोकर, दीपज्योती थापा, साजनकुमार र लालबहादुर पौडेलको अभिनय थियो ।
यस नाटक महोत्सवको चौथो दिन शनिबार दुई ओटा नाटक मञ्चन गरिएको थियो । शनिबारको पहिलो शोमा लोक सञ्चार नाट्य समुह काठमाडौंले मैथिली नाटक ‘सखी’ मञ्चन गरेको थियो । आयोजक सँस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश रञ्जन झाले यो नाटक लेखेका हुन् ।
घिमिरे युवराजको निर्देशन रहेको यो नाटकमा माओबादी जनयुद्ध ताकाको घटना देखाईएको छ । निर्दोश एक किशानलाई सेनाले माओबादीको आरोपमा पक्राउ परेको र उसको छोरा (किशोर)लाई माओबादी जनसेनाले युद्धमा लौजान चाहेको दृष्य देखाईन्छ । तर ती किशोरकी साथीले आफ्नो प्रिय बाख्रो जनसेनालाई दिएर ती किशोरलाई बचाएको दृष्यसँगै नाटक सकिन्छ । यो नाटकमा प्रस्तुत गरिएको दृष्यले दर्शकलाई एक दशकसम्म चलेको माओबादी जनयुद्धको सम्झना गराएको थियो ।
सखीमा प्रमोद अग्रहरी, माधवी कर्ण, संगीता उराउ, निलेश झा, प्रियंका झा, स्मारिक फुँयाल, विवेक तिवारी, सञ्जु पराजुली, रेश जिसी, सरेश पाण्डे, रामेश दहितलगायतको अभिनय थियो ।
यस्तै, शनिबार दोस्रो शोमा नाटक ‘जिउँदो आकाश’ मञ्चन गरियो । यो नाटकको निर्देशन रोशनकुमार मेहताले गरेका थिए । बिराज मैथिल नाट्यकला परिषद बिराटनगरको प्रस्तुति रहेको यो नाटकमा रोशनको एक्लो अभिनय थियो । एकजना पात्रले जीवन यापनको लागि गरेको संघर्षमा यो नाटक केन्द्रित थियो ।
यसरी बुधबारबाट सुरु भएको यो महोत्सब नौ ओटा नाटक मञ्चनसँगै आईतबारबाट सकिएको छ । महोत्सब समापन समारोहमा आयोजक संस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब गणेश रसिकले सहभागीलाई प्रमाणपत्र दिँदै महोत्सब भव्य रुपमा सफल भएको बताए ।
महोत्सव संयोजक तथा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य पुष्करबहादुर गुरुङले यो महोत्सवले दोलखामा नाटक हेर्ने सँस्कार स्थापना गरेको बताए । नाटक हेर्न दैनिह आउने दर्शकको थगी नसक्नु घुईचाले महोत्सब भव्य रुपमा सफल भएको महोत्सब संयोजक गुरुङको कथन थियो ।

Comments