प्रज्ञामा बालसाहित्य गोष्ठी सम्पन्न
screennepal
प्रकाशित: २०७३, ३० जेष्ठ आईतवार
no img

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा संभवतः पहिलो पटक बालकविहरुले आफ्ना कविता सुनाएका छन् । प्रज्ञा प्रतिष्ठानको लोकबार्ता र बालसाहित्य विभाग तथा साहित्य सदन नेपालको सहकार्यमा शुक्रबार आयोजित ‘बालसाहित्य गोष्ठी’मा बालकविहरुले यसरी कविता सुनाएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरले बालसाहित्यकारहरुले लक्षित पाठकको रुचिलाई विशेष ख्याल गरेर साहित्य रचना गरिनु पर्ने बताए ।

photo

प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीले बालबालिकामा तत्कालै अर्काको अनुकरण र अनुसरण गर्ने स्वभाव हुने उल्लेख गर्दै असल कुराहरुतर्फ बालबालिकालाई आकर्षित गर्नु पर्ने बताए । कार्यक्रमकी संयोजक प्राज्ञ नर्मदेश्वरी सत्यालले पहिलो पटक बालबालिकाहरुको सहभागितामा बालसाहित्य गोष्ठी सम्पन्न भएको उल्लेख गर्दै भनिन्, ‘आगामी दिनमा पनि यस्ताखाले कार्यक्रम गर्ने छौँ ।’
साहित्य सदनका अध्यक्ष अमिर थापाको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रभात सापकोटाले ‘नेपाली बाल नाटकको सर्वेक्षण’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए भने उनको कार्यपत्रमाथि देविका तिमिल्सिना र प्रभा भट्टराईले टिप्पणी गरेका थिए । कार्यक्रम संयोजक एवं साहित्य सदन नेपालका उपाध्यक्ष प्राज्ञ सभा सदस्य हेमनाथ पौडेलले कार्यक्रममा ७ वटा विद्यालयबाट १५ बालकविहरुका सभगागिता रहेका बताए ।

Comments