‘जोइटिङ्रेहरुका नियतिहरु’माथि कचहरी
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

विदुर (नुवाकोट) । समाजमा पुरुषहरुमाथि हुने महिला सत्तात्मक हिंसालाई मूल विषय बनाएर साहित्यकार निर्भीक राईले कथेको उपन्यास ‘जोइटिङ्रेहरुका नियतिहरु’माथि कचहरी कार्यक्रमको शुरुवात भएको छ ।

यसै क्रममा नुवाकोटको सदरमुकाम विदुरमा पहिलो पटक आयोजना गरिएको कचहरी कार्यक्रममा प्राज्ञ शशी लुमुम्बूले लेखक राई यथार्थवादी लेखक रहेको उल्लेख गर्दै उपन्यासले मानव जीवन दर्शनलाई सर्लक्कै उतारेको दाबी गरे । उनले भने, ‘यसमा मिलन–विछोड, आँसु–हाँसो, समाज र राजनीतिका साथै यौन र वैदेसिक रोजगारीजस्ता विधि विषय समेटिएका छन् ।’

Nirvik Rai
समीक्षक मुकुन्द अर्यालले राई साहसी लेखक भएको दाबी गर्दै उपन्यासले समाजमा पुरुषमाथि हुने महिला सत्तात्मक हिंसालाई लेखकले उपन्यास मार्फत् नाङ्गो बनाएको बताए, ‘समाजले भोगिरहेको तर आम मानिसले देखेर पनि नदेखेझैँ गरिरहेको तीतो सत्यको पर्दाफास गरेको छ ।’
यसैगरी साहित्यकार शिवसुन्दर पुडासैनीले चाहिँ लेखक राई फ्राइडीय दर्शनबाट प्रभावित रहेको ठम्याउँदै उपन्यासले एउटा युगको कथा कहेको बताए । उनले उपन्यासभित्र युग नै बदल्ने जनवादी सांस्कृतिक आन्दोलनको इतिबृतान्त समेत पाएको बताए ।
नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित कचहरी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण गजुरेल, स्थानीय शान्ति समितिका अध्यक्ष राप्रसाद जोशी, गजलकार सुमित्रा सुमीलगायतले राईको कृतित्व तथा व्यक्तित्वमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
उपन्यासकार निर्भीक राईले उपन्यासको रचनागर्भ सुनाउँदै देशका पचहत्तरै जिल्लामा यस्तो कचहरी कार्यक्रम गर्ने उद्देश्य रहेको र यसको आरम्भ ऐतिहासिक भूमि नुवाकोटबाट गर्न पाउँदा आफूलाई साह्रै खुुसी लागेको उल्लेख गर्दै भने, ‘कार्यक्रममा व्यक्त सुझावहरुबाट मैले असीमित ऊर्जा मिलेको महसुस गरेको छु ।’
उपन्यासकारकी सुपुत्री जाज्वल्य राईद्वारा प्रकाशित दुई सय छयासी पृष्ठको उपन्यासलाई लेखकले सत्यघटनामा आधारित यथार्थपरक उपन्यास भनेका छन् । पुस्तकको मूल्य तीन सय रहेको छ ।

Comments