बोधिसत्व ग्यालरीमा ‘कलाका कुरा’
screennepal
प्रकाशित: २०७३, २६ जेष्ठ बुधबार
no img

काठमाडौं । नेपाल ललितकला पत्रकार समाजको आयोजनामा नेपाल आर्ट काउन्सिलमा ‘कलाका कुरा’ को विशेष शृंखला बुधबार सम्पन्न भएको छ । बोधिसत्व ग्यालरीको आयोजनामा ‘इम्बोडिड इन्लाइटमेन्ट’ शीर्षकको कलाकार समुन्द्रमान सिंह श्रेष्ठको एकल कला प्रदर्शनीबारे सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा कलाकार तथा कला समीक्षक रमेश खनाल, प्रदर्शनीका क्यूरेटर डा. डिना बाङ्देल, कलाकार समुन्द्रमान सिंह श्रेष्ठ र ग्यालरीका बोधीसत्व ग्यालरीका निर्देशक प्रज्वल शाक्यले समुन्द्रमानका कला र नेपाली कलामा पौभाको प्रभावका बारेमा बोलेका थिए ।

kalaka kura02
कलाकार, कला लेखक र पत्रकारहरुसँग गरिएको सो कार्यक्रममा समुन्द्रमानका कलाका विविध पक्ष र आयाममाथि वक्ताले प्रकाश पार्दै पौभामा भित्रिएको नयाँ चिन्तन र शैलीका बारेमा आफ्ना धारणा राखेका थिए ।
नेपालमा कलाकार र ग्यालरीका बीचको अन्तरसम्बन्ध, कलाकारका कलाकृतिको चिन्तन र शैली, विषय र त्यसको प्रस्तुतिले पार्ने प्रभावलाई अधिकांश वक्ताले जोड दिदँै नेपालमा पौभा कला क्षेत्रमा नयाँ विषय र माध्यममा कलाकारले काम गर्न थालेको समेत वक्ताहरुले बताए ।

kalaka kura05
सो कार्यक्रममा डा. बाङ्देलले नेपाली कलाको विकासमा कला लेखनको भूमिाक अहम् हुने बताइन् । उनले भनिन्,‘समुन्द्रका कलाले नेपाली पौभा कलामा नयाँपन दिन सकेको छ । विदेशी स्कलरले परम्परागत कलामा परिवर्तन नहोस् भन्ने चाहन्छन् तर समुन्द्रको कला निकै परिमार्जित छ । साथै प्रदर्शनीमा विभिन्न कक्षमा विषय अनुसार कला राखिएको छ ।’
विभिन्न कालखण्डमा पौभा कला रुपान्तरण हुँदै आएको अर्का वक्ता रमेश खनालले बताए । उनले भने, ‘समुन्द्रका कलालाई सबैले प्रशंसा गरेका छन् । उनमा सीप र सिर्जनाको संयोजनमा निकै खारिएका पाइन्छ ।’
ग्यालरी निर्देशक प्रज्वल शाक्यले कला र कलाकारलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्य यस प्रदर्शनीको आयोजना गरिएको बताए । उनले भने, ‘नेपालमा कलाकारलाई संस्थागत रुपमा अगाडि बढाउन ग्यालरीले काम गर्ने उद्देश्य राखेको छ । यसैको कडीमा रुपमा समुन्द्रको प्रदर्शनी गरिएको हो ।’
‘काम गर्दा विषयको इनर्जीले मलाई छुने भएकाले पौभामा नयाँ किसिमले प्रस्तुत गर्ने कोसिस गरेको छु । मलाई सानैदेखि प्रभाव पारेको धर्म र संस्कृतिका विषय चित्रमा आउने स्वभाविक नै हो,’ कलाकार श्रेष्ठले बताए । सो कार्यक्रममा अस्मिना रञ्जित, नवेन्द्र लिम्बु, कैलाश के श्रेष्ठ, ज्योतिप्रकाश बिके, धर्मराज बराल, प्रदिप शाक्यले वक्तासँग विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए ।

Comments