दुईदिने कला लेखन कार्यशाला सम्पन्न
screennepal
प्रकाशित: २०७३, २५ जेष्ठ मंगलवार
no img

काठमाडौं । सिद्धार्थ आर्ट फाउण्डेशन एजुकेशन इनिसिएटिभको आयोजना र नेपाल ललितकला पत्रकार समाजको सहकार्यमा यलमाया केन्द्रमा दुईदिने कला लेखन कार्यशाला सम्पन्न भएको छ । विभिन्न सञ्चारमाध्यम र स्वतन्त्र ढंगले कला लेखन गरिरहेका तथा कलाका विद्यार्थी करीब दुई दर्जन सहभागी रहेको सो कार्यशालामा प्रशिक्षक डा. याम प्रसाद शर्मा र टंक उप्रेतीले कला लेखन र पत्रकारिताका बारेमा प्रकाश पारेका थिए ।

IMG_3647-2
कला लेखनमा प्रयुक्त हुने शब्द र प्रतीकका बारेमामा बुझ्न जरुरी रहेको शर्माले बताए । उनले भने, ‘कला भिज्यूअल्लि देखिने भाषा हो, यसलाई बुझ्न र लेख्न सर्वप्रथम कलाका आधारभूत विषय बुझ्नुपर्दछ । साथै स्थानीयता, राष्ट्रियता, बिम्ब र प्रतीक तथा रङको चारित्रिक विशेषताका बारेमा बुझ्नुपर्दछ ।’ विश्वमा चलेका कलाका विविध आयाम र चिन्तनका बारेमा समेत लेखकले जानकारी राख्नुपर्नेमा शर्माले जोड दिए ।

IMG_3761
अर्का प्रशिक्षक टंक उप्रेतीले सञ्चारमाध्यममा कला लेखनले निकै न्यून मात्रमा स्थान पाएको बताए । उनले भने, ‘कला लेखनलाई प्रभावकारी रुपमा लैजानका लागि सबैले सोच्नुपर्ने बेला आएको छ । खासगरी सञ्चारमाध्यममा यसलाई विशेष महत्व दिन र कलाको महत्वलाई अझै सबल बनाउन सञ्चार सम्बद्ध संस्थाले ध्यान दिनुपर्दछ ।’
फाउण्डेशनका निर्देशक निश्चल ओलीले कला लेखन कार्यशालाले नेपाली कला लेखनको विकासका साथै कलाको विकासमा नै सघाउ पुग्ने बताए । त्यसैगरी नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कला लेखनमा रहेको कमी कमजोरीलाई सच्याउन र अझ प्रभावकारी रुपमा लेखनको विकासमा कार्यशाला महत्वपूर्ण कार्य हुन गएको बताए । कला लेखन कार्यशालाले सहभागी उत्साहित रहेको कार्यशालाको व्यवस्थापन गरिरहेका फाउण्डेशनका प्रशान्त दासले बताए । तस्वीर सौजन्यः सुरेश योञ्जन

Comments