एमपी सुब्बा
काठमाडौं । ‘कला र प्रतिभा भए अंगप्रदर्शन गर्न जरुरी छैन’ एक प्रशंगमा मोडल तथा अभिनेत्री रेखा फागोले यस्तै जवाफ दिइन् । केही नवषोड्शीले चर्चाका लागि ‘अनेक तिकिडम’ गरिरहेका बेला ‘तारेभीर’ अभिनेत्री रेखाले यस्तो बताएकी हुन् । दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रेखा हिजोआज चलचित्र ‘तारेभीर’ को सुटिङमा व्यस्त छिन् । ‘तारेभीर’मार्फत अभिनेत्रीमा डेब्यु गर्न गइरहेकी रेखाले एक प्रश्नमा भनिन्, ‘आफूसँग प्रतिभा र कला छ भने चर्चाका लागि अंगप्रदर्शन गर्न आवश्यक छैन । यसो भन्दैमा अंगप्रदर्शन नै गर्दिनँ भन्न खोजेकी चाहिँ होइन ।’
उनले आवश्यक परेमा अंगप्रदर्शन गर्न आफू तयार रहेको सुनाइन् । अंगप्रदर्शन गरेपनि अर्नगल रुपमा किस सीन र बेड सीन भने नदिने उनको भनाइ छ ।
प्रेम सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘तारेभीर’ मा रेखा चञ्चल युवतीका भूमिकामा देखिँदैछिन् । ‘तारेभीर’ मा आफूले निर्वाह गरिरहेको भूमिकाबारे रेखाले भनिन्, ‘तारेभीरमा टिनएजर युवतीको भूमिका गर्दैछु । चलचित्रमा म एकदमै चञ्चल केटी हुन्छु ।’
देउकृष्ण देवन निर्मित ‘तारेभीर’ मा गायिक विष्णु चेम्जोङको पनि मुख्य अभिनय छ । विष्णुको बहिनीको भूमिकामा रेखा छिन् । ‘तारेभीर’ रेखाका लागि मात्र नभइ विष्णुको पनि ‘महत्वकांक्षी’ चलचित्र हुनेछ किनकि ‘तारेभीर’ रेखाको डेब्यु हो भने विष्णु पहिलोपटक ‘एक्शन लेडी’का रुपमा देखिँदैछिन् ।
आफ्नो पहिलो चलचित्र भएकाले क्षमता भ्याएसम्म मिहिनेत गरिररहेको रेखाले सुनाइन् । रेखाले भनिन्, ‘हो, यो चलचित्र मेरा लागि महत्वकांक्षी छ । यो चलचित्रले नै मेरो करिअर निर्धारण गर्नेछ । त्यसैले सकेसम्म मिहिनेत गरिरहेकी छु ।’
धरान–१३ की रेखाले ‘मिस लिम्बू’ मा सहभागीपछि नै ग्ल्यामरस क्षेत्रलाई औपचारिक दिएकी हुन् । उनले चार वर्षअघि ‘मिस लिम्बू’ को पहिलो सिजनमा सहभागी जनाएकी थिइन् । सो प्रतियोगितामा रेखाले ‘बेस्ट स्किन’ टाइटल अवार्ड पाएकी थिइन् । तर, ‘मिस लिम्बू’मा सहभागी हुन अघिबाटै आफू मोडलिङ क्षेत्रमा लागेको रेखाले बताउँछिन् । ‘सानैदेखि मोडलिङ गर्ने मेरो रुचि थियो’ २० वर्षीया रेखाले भनिन्, ‘मोडलिङप्रति रुचिकै कारण मिस लिम्बूमा सहभागी भएकी हुँ ।’ सन् २०१२ मै गायिका रजिना रिमाल र भिषण राईको गीतको भिडियोमा मोडलिङ गरेर ग्ल्यामरस क्षेत्रमा पाइला राखेकी रेखा भन्छिन्, ‘अहिलेसम्ममा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छु ।’ आगामी दिनमा मोडलिङलाई निरन्तरता दिने उनको सोच छ ।
मोडलिङमा पाइला राख्दा रेखा १६ वर्षमात्र टेक्दैथिइन् ।
करिब चार वर्ष मोफसल अर्थात् गृहनगर धरानमै मोडलिङमा संघर्ष गरेकी रेखा भन्छिन्, ‘मोफसलमा संघर्ष गरेकै कारण सोचेजस्तो चर्चामा आइनँ ।’ हुन पनि यहाँ एउटै म्युजिक भिडियोमा मोडलिङ गरेर रातारात चर्चामा आउँने मोडलहरु प्रसस्त भेटिन्छन् । तर, रेखा कामभन्दा बढी चर्चामा आउँन चाहदिनन् । उनी भन्छिन्, ‘पहिले काम गरौं अनि चर्चामा आऊँ भन्ने मेरो मान्यता हो ।’ ‘तारेभीर’ मा आफ्नो अभिनय दर्शकले मनपराइदिए चलचित्र क्षेत्रलाई पनि निरन्तरता दिने उनले सुनाइन् । तर, उनी चलचित्र र मोडलिङमै रहेर भविष्य उज्जल हुन्छ भन्नेमा विश्वास राख्दिनन् । ‘मोडलिङ र अभिनय त रुति र इच्छा मात्रै हो’ हाल धरानस्थित विरेन्द्र मेमोरियल क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत रेखाले भनिन्, ‘मेरो भविष्यको लक्ष्य त विजनेश वुमेन बन्ने हो ।’