तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल
काठमाडौं । शसस्त्र प्रहरी बल महानिरीक्षक दुर्जकुमार राई आफ्नो वंश तथा दाजुभाईबाट सम्मानीत भएका छन् । उनलाई रुङ्माहाङ् वान्तवा राई वात्तोङ समिति बेलायतले बुधबार राजधानीमा एक भव्य समारोहबीच सम्मान तथा बधाई प्रदान गरेको हो ।
डेढ दशकदेखि बेलायत बस्दै आएका गायक तथा पूर्वब्रिटिस आर्मी भूमिराज राईको संयोजत्वमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक राईलाई ताम्रापत्र र दोसल्ला ओढाए सम्मान गरेको हो ।
रुङ्माहाङ् वान्तवा राई वात्तोङ समितिको केन्द्री अध्यक्ष प्रेम बान्तवाको प्रमुख आथित्वमा आयोजित राई समुदायबाट पहिलोपटक प्रहरी महानिरीक्षक जस्तो गरिमामय तथा सर्वाेच्च पदमा पुग्न सफल भएको भन्दै उनलाई गरिएको संयोजक भूमिराजले बताए । ‘दुर्जकुमार राई अर्थात् मेरो काकालाई आज यस स्थानमा सम्मान तथा बधाई दिन पाउँदा गर्व लागेको छ’, प्रहरी महानिरीक्षक दुर्जकुमारको नाताले भतिज भूमिराजले भने, ‘मैले त नेपालमा सेवा गर्न पाइनँ । तर, दुई सय वर्षको गोर्खाली इतिहास निर्माण गर्नमा भने मेरो पनि योगदान छ ।’ दुर्जकुमारले आफ्नो एक्लो प्रयासले समग्र राई जातिकै शिर उँचो बनाएको भन्दै उनलाई शुभकामना र बधाई दिन राई समुदायका नेता, समाजसेवी, कलाकारलगायत विभिन्न पेसा र क्षेत्रमा आवद्ध व्यक्तित्वहरु कार्यक्रममा पुगेका थिए । उनीहरुले आफ्नो कार्यकाल अवधिभर नेपाल र नेपालीको सुरक्षा गर्न सफल भई एक सफल सुरक्षा व्यक्तित्वको इतिहास रच्न समेत सुझाए ।
दुर्ज कुमार राई गत १४ बैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले शसस्त्र प्रहरी बल महानिरीक्षक पदमा नियुक्त पाएका हुन् । त्यसअघि ०७२ पौष ३ गते उनलाई सशस्त्र प्रहरीको कायम मुकायम महानिरीक्षकको जिम्मेवारी दिइएको थियो ।
पूर्वको विकट जिल्ला भोजपुरको दिल्पाकात्तिके नागी–४ ०१८ साल मंसिर १ गते जन्मिएका दुर्जकुमार ०४३ साल फाल्गुण ३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाटसेवा आरम्भ गरेका थिए । आफ्नो वंश तथा दाजुभाईबाट सम्मान र बधाई पाएपछि दुर्जकुमारले भने, ‘म आज जुन स्थानमा छु । त्यसमा मेरो आमा–बाबुको पनि ठूलो देन छ ।’ उनले आफ्नो बाल्यकाल र प्रहरी अहिले प्रहरी महानिरीक्षक पदसम्म पुग्दासम्मको स्मरण गरे ।
साथै, यसै अवसरमा गायक तथा कार्यक्रमका संयोजक भूमिराजले किराँत माङ्खिम भवन निर्माणका लागि १ लाख एक हजार १ सय १५ रुपैयाँ प्रदान गरे ।