इन्द्रकुमारीको पीडामा दर्शकको आँखा रसायो
screennepal
प्रकाशित: २०७३, २२ बैशाख बुधबार
no img

काठमाडौं । केही दिनयता जोरपाटीको नयाँ बजारस्थित ख्वापा नाट्य घरमा बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित ऐतिहासिक तथा नारी प्रधान नाटक ‘मनोवेदना’ मञ्चन भइरहेको छ । नाटकलाई दर्शकले निकै मन पराएका छन् । पहिलो शोमै हाउसफुल भएपछि यस नाटकका निर्देशक भोला अधिकारी दंग छन् ।
जब स्टेजमा पुगेर मकवानपुरकी राजकुमारी इन्द्रकुमारी मनोवेदना पोख्न थाल्छिन, तब दर्शकका आँखा रसाउन थाल्छन् । इन्द्रकुमारीले आफू विवाहित भएर पनि पतिको घर जान नपाएको र माइतैमा बस्नुपरेको व्यथाले दर्शकको मन छुन्छ । नाटकमा इन्द्रकुमारीको विवाह भएदेखिका कुरालाई प्रस्तुत गरिएको छ ।

bb
नाटकमा इन्द्रकुमारीको जीवनमा घटेका घटनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । शहरभन्दा अलि टाढा रहेको ख्वापा नाट्यशालामा नाटक हेर्न यति धेरै दर्शक पुग्नु चानचुने कुरा होइन । यसले पछिल्लो समय नाटकप्रति दर्शकको रुचि बढेको संकेत गर्छ । नयाँबस्तीको सर्र्वेश्वर महादेव मन्दिरसँगै रहेको यस नाट्यशालामा करिब एक महिनायता उक्त नाटकलाई कलाकारले रिहर्सल गरेर मञ्चनमा ल्याएका हुन् ।
ऐतिहासिक नाटक भएकाले उक्त नाटक प्रस्तुत गर्नु निकै गाह्रो भएको निर्देशक भोलाले बताए । ०५७ सालमा ‘बगर’ नामक पत्रिकाले यसलाई ‘उत्कृष्ट नाटक’ का रुपमा लिएको थियो । भोला लामो समयदेखि नाटकमा अभिनय गर्दै आएका हुन् भने यसै नाटकबाट निर्देशनमा डेव्यु गरेका छन् ।

bb2
सामाजिक तथा ऐतिहासिक विषयका विद्यार्थीले हेर्नैपर्ने नाटक हो । सुन्दै र पढ्दै आएको ऐतिहासिक नाटकलाई मञ्चमा उतारिएको भोलाले बताए । यस नाटकमा १७९४ सालतिरको परिवेशलाई समेटिएको छ । पृथ्वी नारायण शाहले एकिकरणको वेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी सेनसँग विवाह गरे । तर, राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वी नारायण शाह अर्थात ज्वाईलाई साथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा पृथ्वी नारायण शाह बेहुली नलिइ रित्तै फर्केका थिए । दुलही भएर पनि दुलाहाको घर जान नपाएकी इन्द्रकुमारीको पीडालाई यस नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक बैशाख २५ गतेसम्म मञ्चन हुने निर्देशक भोला अधिकारीले जानकारी दिएका छन् ।

Comments