‘उहिले बाजेको पालामा’ मुखियाकी छोरी सपना
screennepal
प्रकाशित: २०७३, १९ बैशाख आईतवार
no img

काठमाडौं । पूर्वमिस मंगोल सपना रोका आफू अभिनीत चलचित्र ‘उहिले बाजेको पालामा’ रिलिज हुन लाग्दा निकै उत्साहित छिन् । यो चलचित्र आउँदो शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्रमा उनी मुखियाको छोरीको भूमिकामा देखिँदैछिन् । ‘अहिले निकै उत्साहित छु’ मोडल हुँदै अभिनेत्री बनेकी सपनाले भनिन्, ‘यो मेरो दोस्रो भएपनि रिलिजका हिसाबले पहिलो चलचित्र हो ।’ सन् २०१२ को ‘मिस मंगाल’ मा शीर्ष विजेता बनेपछि सपनाले चलचित्र ‘डु यू लभ मी’मार्फत रजतपटमा डेब्यु गरेकी हुन् । तर, यो चलचित्र अझै रिलिज भएको छैन । सपनाका अनुसार ‘डु यू लभ मी’ निकट समयमै रिलिज हुँदैछ ।

Sapana Roka, screennepal (3)
सपना पछिल्लो समय चलचित्रमा अभिनयमा व्यस्त हुन थालेका छन् । ‘उहिले बाजेको पालामा’ चलचित्रको प्रमोसनका क्रममा रहेकी सपनाले स्क्रीन नेपालसँग भनिन्, ‘चाँडै अर्को चलचित्रमा पनि अभिनय गर्दैछु ।’ तर, स्मरणीय कुरा के भने ‘डु यू लभ मी’ उनले आफ्नो फस्ट एण्ड लास्ट चलचित्र हुन सक्नेसमेत बताएकी थिइन् । तर, अहिले आएर सपनाले चलचित्र क्षेत्रमै करिअर देख्न थालेकी छन् । काम गर्दै जाँदा रमाइलो भएकाले चलचित्र क्षेत्रमा रस बसेको उनको भनाइ छ । ‘हो डु यू लभ मी मेरो फस्ट एण्ड लास्ट चलचित्र हुनसक्छ भनेकी थिएँ’, उनले भनिन्, ‘तर, बुझ्दै जाँदा यो क्षेत्र रमाइलो रहेछ ।’

Sapana Roka, screennepal (2)
‘उहिले बाजेको पालामा’ पञ्चायतकालीन चलचित्र हो । विषयवस्तु पुरानो भएपनि चलचित्रले युवापुस्तालाई मनोरञ्जनका साथै सन्देश समृत दिने सपनाको दावी छ । चलचित्रमा धामी, झाँक्रीजस्ता अन्धविश्वासलाई समेत उठाइएको छ भने पञ्चायती व्यवस्थामा भएको मुखियाप्रथालाई पनि चित्रण गरिएको छ । त्यही मुखियाको छोरीको भूमिका देखिन लागेकी सपनाले भनिन्, ‘मैले आफ्नो भूमिकाको न्याय दिएजस्तो लागेको छ । त्यसैले यस चलचित्रबाट आशावादी छु ।’
यो चलचित्र सुदूरपश्चिम सल्यान र जाजरकोटमा छायांकन गरिएको हो । ठाउँअनुसारको भाषा तथा शैलीमा आफूलाई ढाल्न भने निकै गाह्रो भएको उनले सुनाइन् । मिहिनेतअनुसार फल पाउनेमा भने उनी ढुक्क छिन् । ‘हरेक काम गाह्रै हुन्छ’ सपनाले भनिन्, ‘तर, त्यसैबाट मिठोफल पाइन्छ । यो चलचित्रबाट पनि मिठो फल पाउने विश्वास लिएकी छु ।’

Sapana Roka, screennepal (5)
बसन्त घर्तीमगर निर्देशित यस चलचित्रमा सपनाका अलावा खुश्बु खड्का र कविता थापाको पनि मुख्य अभिनय छ । साथै, चलचित्रमा दीलिप रायमाझी, मियुनकुमार जिरेल र गणेश बेल्वासे नायकमा रुपमा छन् । यो चलचित्रले कस्तो व्यापार गर्छ भन्ने त आउँदो शुक्रबारपछि नै थाहा हुनेछ । तर, चलचित्रकी एक अभिनेत्री सपनाका अनसार ‘उहिले बाजेको पालामा’ हेर्न लायकको बनेको छ । उनले एकपटक यो चलचित्र हेर्न समेत आग्रह गरेकी छन् ।

Comments