हाउ फन्नी रेड कार्पेट : माल्भिकालाई दुवै सन्तान प्यारो (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ९ बैशाख बिहीबार
no img

how fanny, screennepal (2)

काठमाडौं । चलचित्र ‘हाउ फन्नी’ को बुधबार साँझ राजधानीस्थित कुमारी सिनेमा हलमा प्रिमियर गरिएको छ । रिलिजको एकदिन अगाडि गरिएको प्रिमियरमा सञ्चारकर्मी, कलाकार तथा विभिन्न व्यक्तित्वले चलचित्र हेरेका थिए । यो चलचित्र यो शुक्रबार देशव्यापी रिलिज हुँदैछ ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस चलचित्रलाई निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन् । निलुको यो डेब्यु निर्देशन हो । उनले आफ्नो डेब्यु निर्देशन चलचित्रबाट आशावादी रहेको बताइन् । ‘चलचित्र दर्शकले रुचाइदिनेछन् भन्ने अपेक्षा गरेकी छु’, प्रिमियरपछि निर्देशक निलुले भनिन्, ‘यस चलचित्रका लागि मिहिनेत पनि गरेका छौं ।’

how fanny, screennepal (3)

कार्यक्रममा चलचित्रकी अभिनेत्री प्रियंका कार्की आकर्षक बनेकी थिइन् । विशेषगरी प्रियंकाले लगाएको पहिरनले फोटो पत्रकारको ध्यान तानेको थियो । कार्यक्रममा प्रियंका ह्वाइट गोल्डेन कलरको गाउनमा थिइन् ।

how fanny, screennepal (5)

चलचित्रको प्रिमियरमा कार्यकारी निर्माता माल्भिका भने आइनन् । पहिलो सन्तानकी आमा बन्न लागेकाले उनी कार्यक्रममा सहभागी हुन नसकेकी हुन् । तर, यसअघिका हरेक कार्यक्रममा उनी सहभागी हुँदै आएकी थिइन् । ‘हाउ फन्नी’ रिलिज मिति र माल्भिकाको डेलिभरी डेट करिब सँगसँगै रहेको छ । यो कुरा उनले अघिल्लो पत्रकार सम्मेलनमै जानकारी गराएकी हुन् । माल्भिकाले ‘हाउ फन्नी’ लाई समेत आफ्नो सन्तानको रुपमा लिँदै भनिन्, ‘मलाई दुवै बच्चा प्यारो छ, त्यसैले दुवैको केयर गरिरहेकी छु ।’

how fanny, screennepal (4)
चलचित्रमा प्रियंका कार्की र केकी जासुसको भूमिकामा देखिँदैछन् । हास्यप्रधान यस चलचित्रको लेखन शान बस्न्यातले गरेका हुन् भने निर्माण आङनुरु शेर्पा (फेरिचे), छिरिङलामु शेर्पा र निमाटासी शेर्पाको रहेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुपविक्रम शाही, विजय बराल, शिशिर राणालगायातको अभिनय रहेको छ । तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल

how fanny, screennepal (1)

Comments