सडकपेटीमा विद्यार्थीका संरक्षण सिर्जना
screennepal
प्रकाशित: २०७३, ३ बैशाख शुक्रबार
no img

काठमाडौं । बबरमहलको सडक किनारामै विद्यार्थीले वन्यजन्तु र प्रकृतिका विभिन्न पक्ष समेटिएको चित्र बनाएका छन् । बिहीबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका २५ विद्यालयका ७५ विद्यार्थीले प्रकृतिसंरक्षण सम्बन्धी चेतनामूलक चित्र बनाएका हुन् ।
२१ औं बन्यजन्तु सप्ताहको अवसर पारेर आयोजित चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले सडकपेटीमै बसेर ‘वन्यजन्तुको भविष्य हाम्रो हातमा’ शीर्षकमा आधारित रहेर चित्र बनाएका हुन् । उनीहरूले चित्रमा आफ्नो भविष्यसँगै बन्यजन्तुको भविष्य पनि सुरक्षित र संरक्षित हुनुपर्छ भन्ने भाव प्रकट गरिरहेका थिए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल अन्तर्गतको द जेनेरेसन ग्रीन अभियानको व्यवस्थापनमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको प्रतियोगितामा सैनिक महाविद्यालय भक्तपुरका सन्तोष भाट प्रथम, एम्बिसन एकेडेमी उमावि बानेश्वरकी विज्ञता कार्की द्वितीय, ज्ञानोदय बालबालिटका ललितपुरका प्रगल्भ जोशी तृतीय, नासा इन्टरनेसनल स्कुलका रोहन चाम्लिङ र ज्ञानोदय बालबाटिकाकी विशिष्ठा बज्रचार्य सान्त्वना घोषित भए ।

???????????????????????????????
प्रतियोगिताको निर्णायकमा कलाकारहरू शान्तकुमार राई र नरेन्द्र बहादुर श्रेष्ठ थिए । विद्यालय तहदेखि नै अमुल्य वन्यजन्तुहरूको संरक्षण संवद्र्धनमा लाग्न प्रेरणा मिलोस भने र चित्रकला प्रतियोगिता आयोजना गरिएको कुरा कार्यक्रम संयोजक देवी घिमिरेले बताए । विद्यार्थीलाई प्रमथ हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई रु चार हजार, तेस्रो हुनेलाई तीन हजार र सान्त्वना दुईजनालाई दुई ÷दुई हजार नगद तथा प्रमाणपत्र दिने कार्यक्रम रहेको कुरा समेत घिमिरेले जानकारी दिए । जल जमिन जंगल जनावर जडिबुटी जलाशय जोगाउने जनचेतनात्मक अभियानले बालबालिकादेखि सर्वसाधारणसम्मलाई सचेत बनाउन सक्छ भन्ने जानकारी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्तले बताए ।
वन्यजन्तु सप्ताहको अवसरमा बैशाख ४ गते नागार्जुन शिवपुरी राष्ट्रिय निकुन्जमा पन्छी अवलोकन, बैशाख ६ गते सदर चिडियाखाना जावलाखेलमा संरक्षण कविता प्रतियोगिता तथा बैशाख ७ गते राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा माननीय बनमन्त्री ज्यूको प्रमुख आतिथ्यमा विविध कार्यक्रम, पुरस्कार वितरणका साथै विविध संरक्षण सम्बन्धी पत्रिकाको सँगालो समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । २१ औं वन्यजन्तु सप्ताह २०७३ वन्यजन्तुको भविष्य हाम्रो हातमा भन्ने नाराका साथ प्रारम्भ भएको छ । हरेक वर्ष बैशाख एक गतेदेखि सात गतेसम्म मनाइने वन्यजन्तु सप्ताहमा विभिन्न चेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।

Comments