नयाँ वर्षको शुभकामना : ‘२०७२ जस्तो वर्ष कहिल्यै नआओस्’
screennepal
प्रकाशित: २०७२, ३० चैत्र मंगलवार
no img

काठमाडौं । वर्ष ०७२ विदाइ भएको छ ।  ०७२ सालको प्रारम्भमै विनाशकारी भूकम्पको चपेटा सहनुप-यो । र, प्रकृति संकटसँगै छिमेकी मुलुकको अघोषित नाकाबन्दीले झनै जर्जर बन्यो नेपाली जनजीवन । नेपालीका लागि ०७२ ‘कालो वर्ष’ सावित भएर विदाइ हुँदैछ । र, कालो वर्षलाई विदाई गर्न जति आतुर छौ हामी त्योभन्दा बढी नयाँ वर्ष ०७३ को स्वागत गर्न ।

_MG_5923 - Copy - Copy
‘२०७२ जस्तो त वर्ष कहिल्यै नआओस्’ भन्ने कामना गर्दै नयाँ वर्ष २०७३ को स्वागतमा नेपाली जुटेका छन् । आम कामना छ, ‘नयाँ वर्ष ०७३ सालसँगै नेपालीमा सुख, शान्ति र समृद्धिको ढोका खुलोस् ।’ स्क्रीन नेपाल डटकम पनि यही कामना गर्दछ, ‘नयाँ वर्ष २०७३ मा नेपालीको आँगनमा सुख, शान्ति र समृद्धि फुलोस्, यही छ नयाँ वर्षको शुभकामना ।’

Prem geet
०७२ मा सामाजिक तथा राजनीतिकमा मात्र नभएर मनोरञ्जनको दुनियाँ पनि संकटमा प-यो । बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका कारण तीन महिना सिनेमा हल ठप्प भए । तीन महिना हल ठप्प हुँदा सोचेभन्दा कम रिलिज भयो । अघिल्लो वर्ष अर्थात् ०७१ को तुलनाको यो वर्ष निकै कम चलचित्र रिलिज भए । हाल रिलिज भइरहेका चलचित्र ‘नाई नभन्नु ल–४’ र ‘रामप्यारी’सहित यो वर्ष ६५ चलचित्र रिलिज भए, जबकि, गएको वर्ष ८५ वटा रिलिज गरिएको थियो ।
संख्यात्मक केही तलमाथि भएपनि व्यापारको हिसावले भने उस्तै देखिन्छ । गत वर्ष रिलिज भएका ८५ चलचित्रमध्ये औसतले मात्र लगानी उठाएका थिए, जसमा ‘नोभेम्बर रेन, कबड्डी, कोहिनुर, हिम्मतवाली, लज्जा र जेरी थिए । त्यस्तै, यस वर्ष पनि यतिकै संख्या अर्थात् एक दर्जन चलचित्रले मात्र लगानी सुरक्षित गरे ।

nai-na-bhannu-la-3
०७२ मा लगानी सुरक्षित गर्ने चलचित्रको पहिलो सूचिमा ‘ड्रिम्स’ परेको छ । अभिनेता भुवन केसीको डेब्यु निर्देशित ‘ड्रिम्स’ले पाँच करोडको हाराहारीमा ग्रस व्यापार ग¥यो । चलचित्रमा अनमोल केसी र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका छ ।
अर्को लगानी सुरक्षित गर्ने चलचित्र हो, ‘प्रेमगीत’ । अभिनेता तथा निर्देशक सुदर्शन थापा निर्देशित यो चलचित्रले पनि तीन करोड रुपैयाँभन्दा माथिको ग्रस व्यापार ग¥यो । यो आँकलन निर्माणपक्षको हो । ‘प्रेमगीत’ ०७२ को सफल चलचित्रमा दरिएको छ । यस चलचित्रमा प्रमोद खड्का र पुजा शर्माको मुख्य अभिनय छ । यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
यस्तै, ‘परदेशी’ पनि यस वर्ष लगानी सुरक्षित गर्ने चलचित्रमा दरिएको छ । यस चलचित्रले साढे दुई करोड रुपैयाँमाथिको व्यापार गरेको छ । नारायण रायमाझी निर्देशित तथा राजेश वंशल निर्मित यस चलचित्र लगानीको हिसाबले सर्वाधिक कमाउने दोस्रो चलचित्र बनेको छ । त्यस्तै, ०७२ मा हास्यप्रधान चलचित्र ‘वडा नम्बर ६’ ले पनि लगानी सुरक्षित गरेको छ । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गरेको यस चलचित्रले पनि २ करोडमाथिको ग्रस कलेक्सन गरेको थियो ।
अर्को लगानी सुरक्षित गर्ने चलचित्र हो, ‘होस्टेल रिटन्र्स’ । सुरज भुषाल निर्देशित तथा सुनिल रावलले निर्माण गरेको यो चलचित्रले पनि २ करोडमाथिको ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र ‘होस्टेल’ को सिक्वेलको रुपमा आएको थियो ।
चर्चाका हिसाबले ०७२ मा चलचित्र ‘रेशम फिलिली’ पनि सफल देखिएको छ । तर, १२ वैशाखमा भूकम्प गएपछि यसको प्रदर्शन रोकियो । त्यसपछि पुनः प्रदर्शन गरिएको यस चलचित्रले अपेक्षा गरेअनुसार व्यापार गरेन । तर, निर्मातालाई घाटा हुनबाट भने बचाएको थियो ।
त्यस्तै, खगेन्द्र लामिछाने अभिनीत चलचित्र ‘पशुपति प्रसाद’ ले पनि रामै्र व्यापार गरेको छ । दीपेन्द्र के खनाल निर्देशित यस चलचित्रको पनि ग्रस कलेक्सन २ करोड रुपैयाँभन्दा माथि छ । जुन–जुन चलचित्रले लगानी सुरक्षित गरे, ती चलचित्रले कमाए पनि । र, वर्षको अन्तिम साता रिलिज भएको ‘नाइँ नभन्नु ल–४’ र ‘रामप्यारी’ले पनि राम्रै चर्चा पाइरहेका छन् ।  विकास आचार्य निर्देशित ‘नाइँ नभन्नु ल–४’ले रेखा थापाको ‘रामप्यारी’लाई व्यापारमा उछिन्दै आएको छ । तर, चर्चाका हिसाबले यी दुवै चलचित्र सफल छन् ।

Comments