पाटन म्युजियममा दासको मिथिला कला
screennepal
प्रकाशित: २०७२, ३० चैत्र मंगलवार
no img

काठमाडौं । मिथिला कलाकार पुनम कुमारी दासको एकल कला प्रदर्शनी पाटन म्यूजियममा चैत  २५ देखि भइरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले उद्घाटन गर्दै मिथिला कलाले नेपालको मिथिला क्षेत्रको समग्र संस्कृतिलाई उजागर गर्न सफल रहेको बताइन् । उनले थपिन्, ‘धेरै परिश्रमी र सबल कलाकार पुनमले बनाएका चित्रमा मिथिलाको मौलिकता प्रबल रुपमा प्रस्तुत गर्न सफल हुनुभएको छ । घर समाल्दा समाल्दै यत्ति राम्रो काम गर्नु निकै चूनौतिपूर्ण छ । तर, पुनमजीले यो सबैमा सफल हुनुहुन्छ ।’

mithila kala, screennepal
नेपालमा लोककलाको विकास भएको धेरै लामो समय भयो । यो लामो परम्परालाई कलाकारले मौलिक रुपमा निरन्तरता दिँदै आएको प्राज्ञ तथा प्रतिष्ठानका लोककला विभाग प्रमुख एससी सुमनले बताए । निकै मिहेनती र लगनशिल कलाकारको रुपमा पुनमले नेपाली लोककलामा योगदान दिँदै आएको सुमनले बताए । नेपाल तथा विदेशमा विभिन्न पटक सामूहिक कला प्रदर्शनीमा सहभागी हुँदै आएकी कलाकारले अघिल्लो वर्ष पनि सोही स्थानमा एकल कला प्रदर्शनी गरेकी थिइन् । प्रदर्शनीमा मिथिला जनजीवन र संस्कृतिलाई कलात्मक रुपमा चित्रण गरिएको चित्र प्रदर्शनीमा राखिएको छ ।
रामायण, महाभारतका कथा र चरित्रमा आधारित विषयका साथै मिथिला क्षेत्रमा प्रचलित संस्कारजन्य विषयका साथै दैनिक जनजीवन आधारित चित्र समेत उनले बनाएकी छन् । रुख जंगल, जनावर र मानिसबीचको प्रेमलाई समेत उनले कलात्मक रुपमा चित्रण गर्दै आफ्नो सिर्जनाको विषय बनाएकी छन् । कृष्ण चरित्र र गोपिनीका विषयलाई समेत उनले निकै आकर्षक रुपमा प्रस्तुत गरेकी छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा भएको सो प्रदर्शनी बैशाख २ सम्म रहने आयोजकले जनाएको छ ।

Comments