काठमाडौं । पूर्वमा तेह्रथुमे ढाका निकै लोकप्रिय छ । लिम्बू समुदायमात्र नभएर अधिकांश पूर्वेलीहरु ढाका परिहनमा सजिँदा आफूलाई फरक अनुभूति गर्छन् । त्यो पनि तेह्रथुमे ढाकाको त बेग्लै पहिचान नै छ । पछिल्लो समय ढाकाको परिहन नेपालमा मात्र नभई बेलायत, हङकङ, जापान, सिंगापुर, कोरिया, बु्रनाईलगायत नेपाली पुगेका देशहरुमा समेत लोकप्रिय हुन थालेको छ । हातैले बुनेको भएकाले पनि ढाकाको विशेषता छुट्टै भएको हो । पहिले–पहिले ढाकाबाट टोपी, गलबन्दी, रुमाल, पछ्यारीजस्ता हल्का पहिरनमात्र बन्छ भन्ने एक किसिमको भावना थियो । तर, पछिल्लो समय ढाकाबाट आधुनिक परिहनहरु पनि बन्न थालेको छ । यसले पनि ढाका पहिरनको लोकप्रियता बढ्दै गएको पुष्टि गर्छ । ढाकाबाट बनेका गाउन, वानपिस, मेख्ली, साडी, टप्स, आउटर वानपिसजस्ता पहिरनहरु लोकप्रिय हुन थालेका छन् ।
केही दिनअघि एक कार्यक्रममा ढाका पहिरनको शान झल्किएको थियो । कार्यक्रम थियो, गायक रुकमान लिम्बूको नयाँ भिडियो ‘हाक्पारे पालम ख्याली’ को लोकार्पण । तर, त्यहाँ देखियो तेह्रथुमे ढाकाको शान । कार्यक्रममा उपस्थित कलाकार, पाहुना र पत्रकारसमेत तेह्रथुमे ढाका पहिरनमा सजिएका थिए । ढाका पहिरनको संयोजन गरेको थियो, ‘तेह्रथुमे ढाका शप’ले ।
यो शप ललितपुरको मिलन चोकमा छ । यस तेह्रथुमे ढाका शपको सञ्चालन निरु आङबुङ र संगीता लिंखाले गरेका हुन् । दुई वर्षअघि सञ्चालनमा ल्याएको उक्त ढाका शपले अहिले अर्डरअनुसार ग्राहकको माग पूरा गर्दै आएको छ । पछिल्लो समय दिनदिनै ढाका पहिरनको माग बढ्दै गएको सञ्चालकमध्येकी एक निरु आङबुङले बताइन् । हेर्नुहोस् तस्बिरमा तेह्रथुमे ढाकाको शान ।
शब्द : एमपी सुब्बा/तस्बिरहरु : सुनिल राजभण्डारी