‘हाङ हिलिहाङ’हेरेपछि पुनले भने, ‘इतिहासमा एकपटक हामी हराएका थियौं’
screennepal
प्रकाशित: २०७२, २६ चैत्र शुक्रबार
no img

hili

काठमाडौं । हिलिहाङ को थिए ? उनले के–के गरेका रहेछन् त ? यस्तै खुल्दुलीलाई मेटाउन हिलिहाङबारे निर्माण गरिएको बृत्तचित्र ‘हाङ हिलिहाङ’ बिहीबार राजधानी विशेष प्रदर्शन गरियो । हिलिहाङ लिम्बुवानका अन्तिम राजा (हाङ) थिए । ३१ मिनेट अवधिको उक्त बृत्तचित्रमा यसैलाई पुष्टि गरिएको छ ।

hilihang, screennepal (2)
हिलिहाङ फाउन्डेसनको निर्माण तथा लोकेन साँवा लिम्बूको निर्देशन रहेको उक्त बृत्तचित्रमा राजा हिलिहाङले शासन गरेको हिलिहाङ दरबार ‘याङ्रुप थुम’लाई केन्द्रविन्दुमा राखिएको छ । हाल पाँचथर जिल्लाका तीन गाविस नागी, अमरपुर र पञ्चमीको केन्द्रविन्दुको हस्तपुर यकमा हिलिहाङले राज्य सञ्चालन गरेको प्रमाण वृत्तचित्रमा दिइएको छ ।
विसं १८३१ मा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले १७ पटक हिलिहाङको राज्यलाई आक्रमण गरेका थिए । तर, जित–हार नभएपछि सम्झौता गरेर युद्ध टुङग्याएको बृत्तचित्रमा देखाइएको छ । ऐतिहासिक प्रमाणलाई संकलन गर्दै निर्माण गरिएको बृत्तचित्रमा योङहाङ ‘लिम्बूको एक थर’ वंशका हिलिहाङलाई एक प्रतापी र कुशल योद्धाका रुपमा प्रस्तुत गरिएको छ ।

hilihang, screennepal (1)
विसं १७८३ मा जन्मिएका हिलिहाङको विसं १८४२ मा छिमेकी राज्य सिक्किममा हत्या गरिएको थियो । वृत्तचित्र हेर्न आपूर्ति मन्त्री गणेशमान पुन अनामनगरस्थित मण्डला थिएटर पुगेका थिए । उनले बृत्तचित्रले हराएको सभ्यता, संस्कृति र पहिचान एवं इतिहास खोतलेको बताए । मन्त्री पुनले भने, ‘इतिहासमा एकपटक हामी हराएका थियौँ, अब फेरि जुटेर नयाँ आधारको पहिचान निर्माण गर्नुपर्छ, त्यसका लागि समावेशी, समानुपातिक र संघीय गणतान्त्रिक संविधान आएको छ ।’

फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले लुकेको इतिहासलाई उजागर गर्न बृत्तचित्र सफल रहेको आफ्नो धारणा सुनाए । निर्देशक साँवाले पहिलो बृत्तचित्र भएकाले कतिपय कमिकमजोरी रहेको बताउँदै आगामी दिनमा सच्चिएर अघि बढ्ने बताए । यस बृत्तचित्रको प्रस्तुतकर्ता टेकबहादुर योङहाङ लिम्बू, निर्माता शैलेन्द्र थेबे, मनुता काङ्बाङ इवारम, विरेन्द्र मुदेनछङ साबा, कल्पना योङहाङ, टिका माखिम र याक्थुङ चुम्लुङ एसोसिएसन अफ क्यालगरी क्यानडा रहेका छन् ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागतार्थ निशा पोमु, बबिता फोम्बो, रुपा आङ्बुहाङ, दिव्या चेम्जोङ, मेरिना तुम्सा, मञ्जु थेबेलगायतका मोडल तथा कलाकारहरुले लिम्बू भेषभूषामा नृत्य गरेका थिए ।

Comments