रनवेले लियो ३० लाखमा ‘प्रेमगीत’को ओभरसिज राईट्स
screennepal
प्रकाशित: २०७२, ११ चैत्र बिहीबार
no img

काठमाडौं । मोडलिङ दुनियाँमा आफ्नो छुट्टै स्थान बनाएको ‘रनवे फेसन हाउस’ अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धनमा पनि जुटेको छ । यस फेसन हाउसले पहिलोपटक नेपाली फिल्म ‘प्रेमगीत’ को अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने भएको छ ।

यस फेसन फेसन हाउसले ‘प्रेमगीत’ को विभिन्न २५ देशका लागि ओभरसिज राइट्स लिएको छ । बिहीबार राजधानीका पत्रकार सम्मेलन गरी फिल्मका तर्फबाट निर्माता सन्तोष सेन र फेसन हाउसको प्रबन्ध निर्देशक सुवाससिंह ठकुरीबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै निर्माता सन्तोषले ३० लाख रुपैयाँमा रनवे फेसन हाउसलाई ओभरसिज राइट्स दिएको बताए । ‘५० लाखमा राइट्स दिने सोचेको थिएँ’ उनले भने, ‘तर, ३० लाखमा कुरा मिल्यो ।’

Prem geet
उक्त ओभरसिज राइट्स अनुसार अब रनवे फेसन हाउसले विश्वका विभिन्न २५ मुलुकमा ‘प्रेमगीत’ प्रदर्शन गर्नेछ । फेसन हाउसका प्रबनध निर्देशकले सिंगापुरबाट चलचित्र प्रदर्शन सुरु गर्ने बताए । त्यसपछि मलेसिया, थाइल्याण्ड, अष्टेलिया, पार्चुगल, न्युजिल्याण्ड, युएई, कतार, बहराइन, ओमान, दक्षिण कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत र युकेमा प्रदर्शन गर्नेछ । ‘प्रेमगीत’ को गुणास्तरलाई हेरेर अन्तर्राष्ट्रय बजार प्रवद्र्धनका लागि जिम्मा लिएको ठकुरीले बताए । उनले भने, ‘यस्तै अरु पनि स्तरिय र राम्रा नेपाली चलचित्रको बजार प्रवद्र्धन गर्न हामी तयार छौं ।’
कार्यक्रममा निर्माता सन्तोषले फिल्मले अहिलेसम्म लगानी मात्र सुरक्षित गरेको बताए । ३ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्शन गरेको भए पनि अहिलेसम्म आफ्नो हातमा ८०/९० लाख रुपैयाँमात्र परेको बताउँदै उनले भने, ‘जेहोस् प्रेमगीतले लगानी सुरक्षित गरेको छ । चलचित्र अझै चलिरहेको छ ।’ उनका अनुसार चलचित्रका १ करोड ६० लाख लगानी परेको थियो । त्यो लगानी उठाएर अहिले चलचित्र फाइदामा गइरहेको छ । २५ देशमा फेसन हाउसलाई ओभरसिज राईट्स दिएको भए पनि अन्य दर्जन मुलुकमा आफैले बजार प्रवद्र्धन गर्ने सन्तोषले बताए । सुर्दशन थापा निर्देशित यो फिल्ममा प्रमोद खड्का र पुजा शर्माका मुख्य अभिनय रहेको छ ।

Comments