काठमाडौं । राजधानीको मिथिला यें आर्ट ग्यालरी परिसरमा शुक्रबार ३६ कलाकारले चलचित्र ‘राहदानी’लाई क्यान्भास रङ्ग्याए । अग्रज कलाकार रमेश खनाल, नरेन्द्रबहादुर श्रेष्ठ देखि डिल्लीराम पाल्पाली, एन्बी गुरुङ, अनिता खनाल भट्टराई, प्राज्ञ ज्योतिप्रकाश विके, नरबहादुर विके, श्याम सुन्दर यादव, प्राज्ञ लालकाजी लामा, राम ठाडा, अजित शाह, केशव राज खनाललगायतका कलाकारले चलचित्र हेरेर सोही चलचित्रलाई क्यान्भासमा उतारेका हुन् । चलचित्रका निर्देशक डब्बु क्षत्रीले समेत चित्र बनाउन भ्याएका थिए ।
बिहीबार गरिएको चलचित्रको विशेष प्रदर्शनी हेरेर कलाकारले आफूलाई छोएको विषयलाई रोजेका हुन् । चलचित्रले बिदेशमा जाँदा नेपालीले भोग्नुपरेको पीडा र मृत्युको क्रन्दन, नेपालमा श्रीमतीले श्रीमान्को कमाईमा मोज गरेको विषयलाई समावेश गरिएको छ ।
अनधिकृत रुपमा जाने नेपालीले पाउने दुःखलाई चलचित्रले सजिवता दिन सकेको र सोही विषयमा रहेर चित्र बनाएको कुरा कलाकार अनिता खनालले बताइन् । त्त्यस्तै, अर्का कलाकार विके नरबहादुरले चलचित्रका नायककै मुहारलाई चित्रण गर्दै कला सृजना गरे । एक्रेलिक रङ माध्यममा सिर्जिएका कलाकृतिलाई चैत ७ गते प्रदर्शनीका लागि खुल्ला गरिने निर्दशक क्षत्रीले बताए । कलाकृति बिक्रीबाट आएको रकम वैदेशिक रोजगारीमा जाँदा पीडामा रहेका परिवार र उनीहरुका सन्ततीका लागि खर्च गरिने बताइएको छ ।