गुफाकालिन् झल्को दिने कला (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ३ चैत्र बुधबार
no img

-देवेन्द्र थुम्केली

काठमाडौं । नाचिरहेको मयूरको वरिपरि विभिन्न जनावर तालमा ताल मिलाउँदै नाचिरहेका छन् । लयात्मक रुपमा नाचिरहेका जनावरबीच सहिष्णुताले हामी मानिसलाई गिज्याइरहेको अनुभूति हुन्छ । त्यस्तै, गुफाकालिन् समयको झल्को आउनेगरी थारु जाति र तिनको प्रकृतिसँगको सम्बन्धलाई कलात्मक रुपमा जोडेका कला राजन काफ्लेले बनाएका छन् ।

kala, screennepal (3)
राजनसहित ४२ जना नेपाली तथा विदेशी कलाकारले वन्यजन्तुसम्बन्धी बनाएका चित्र तथा मूर्तिको प्रदर्शनी बौद्ध टुसालस्थित तारागाउँ म्यूजियममा आइतबारबाट सुरु भएको छ । प्रदर्शनीको उद्घाटन वनमन्त्री अग्नि सापकोटाले एक समारोहका बीच गर्दै कलालाई प्रकृति संरक्षणसँग जोडेर कलाकारले निकै राम्रा कलाकृति रचना गरेको बताए ।

kala, screennepal (2)
आर्ट फर नेचर शीर्षकको सो प्रदर्शनीमा नेपालसहित ७ देशका कलाकारले चितवन निकुञ्ज घुमेर सौराहामा बसेर तयार पारेका कलाकृतिलाइ राखिएको हो । प्रकृति, जनावर र मानवीय सम्बन्धका विविध आयामलाई कलात्मक रुपमा चित्रण गरिएका कलाले नेपाली समसामयिक पक्षलाई समेत उतारेको पाइन्छ ।

kala, screennepal (4)
वन्यजन्तु पिडित उद्धार कोषको आयोजनामा भएको सो प्रदर्शनीलाई डब्लुडब्लुएफ नेपाल, नेशनल ट्रष्ट फर नेचर कन्जर्भेशन र ह्यूमनी सोसाइटी इन्टरनेशनलको सहयोगमा गरिएको हो । बेलायत, जर्मनी, भारत, अमेरिका, मेक्सिको अष्ट्रेलियाका छ जना र ३६ जना नेपालका कलाकारका प्रकृतिसम्बन्धी कलाले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, जंगली जनावर तथा सांस्कृतिक विविधतालाई कलात्मक रुपमा चिनाउन सफल रहेको आयोजक संस्थाका अध्यक्ष डा. प्रभु बुढाथोकीले बताए । उनले भने, ‘प्रदर्शनीको उद्देश्य प्रकृतिसम्बन्धी कलाको प्रचार प्रसार गराउने र कलाबाट प्रकृति संरक्षणमा सहयोग पुर्याउनु हो । साथै यो प्रदर्शनीबाट नेपाली प्रकृतिसम्बन्धी कलाको अन्तर्राष्टिय पहिचान बनाउनु पनि हो । साथै नेपालको प्राकृतिक सौन्दर्यता र त्यसको विविधतालाई चिनाउने हाम्रो लक्ष्य रहेको छ ।’

kala, screennepal (1)
‘प्रदर्शनी असाध्यै राम्रो लाग्यो । कलाले नेपाली वाइल्डलाइफलाई कलात्मक ढंगले पस्कन सकेको छ । नेपालका चिनिएका कलाकारका कलाकृति र तिनले नेपाली वन्यजन्तुलाई निकै आकर्षक रुपमा प्रस्तुत गरेको पाए,’ कला संकलक डिल्ली ओलीले बताए ।
प्रदर्शनीमा मनुजबाबु मिश्र, शशी शाह, रागिनी उपाध्याय, गेहेन्द्रमान अमात्य, ठाकुरप्रसाद मैनाली, राजन काफ्ले, डा.लय मैनाली, हरिप्रसाद शर्मा, गोपाल कलाप्रेमी, भीम श्रेष्ठ, सुर्दशन राणा, सुनिता राणा, इन्दिरा श्रेष्ठ, हरिराम अधिकारी, हिरालाल डंगोल, सन्जु शाही, ताराप्रसाद ओझा, नीरा जोशी, विजय मर्हजन, प्रमित ढकाल, ज्योतिप्रकाश बिके लगायतका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी शनिबारसम्म रहनेछ ।
तस्वीर सौजन्यः गोरख रेग्मी

Comments