काठमाडौं । यथार्थ जीवनभन्दा फरक बाटोमा हिडेका व्यक्ति मूर्तिमार्फत सही दिशामा आउन सफल भएको वास्तविकता बुझ्न विशाल सारु मगरका मूर्ति अवलोकन गर्न नेपाल आर्ट काउन्सिल बबरमहल जानुपर्छ । कुलतमा लागेर जीवनलाई बर्बादीको डिलमा पु-याएका विशालले मूर्तिकलामा लागेपछि नयाँ जीवनमा प्रवेश गरे । यिनै सारुमगरले बनाएका ११ थान मूर्ति प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ । ६ गतेसम्म रहने सो ‘रिवर्थ’ शीर्षकमा राखिएकोे प्रदर्शनी पनि विशालको कुलतबाट नयाँ जीवनमा प्रवेश गरेको यथार्थतामा रहेर राखिएको हो ।
स्वप्निल विषय, पीडा र मानवीय संवेदना लगायतका विषयमा केन्द्रीत रही सारुले मूर्ति बनाएका छन् । जीवन संघर्ष र नारीको सामाजिक अवस्था र सपनालाई समेतलाई कलाकारले मूर्तिमा मूर्तन गरेका छन् ।
‘निराशाका विषयलाई विशालले कलात्मक रुपमा मूर्तन गर्दै त्यसमा सामाजिक भावलाई समेत चित्रण गर्न खोजेको पाइन्छ ,’ युवा मूर्तिकार कुशल कुमार मगरले बताए । उनले थपे, ‘जीवन भोगाईका विषयलाई समेत विशालले मूर्तिमा समेटेका पाइन्छ ।’
‘विशाल सारुका काम निकै अध्ययन र मिहिनेत गरेर बनाएको देखिन्छ । यसैगरी निरन्तरता दिँदै गएमा नेपाली मूर्तिकलाको क्षेत्रमा सारुको भविष्य उज्जवल देखेको छु,’ कलाकार शान्त कुमार राईले बताए ।
‘जीवनको यथार्थंतामा सही बाटो पहिल्याएर हिड्नका लागि मूर्तिकलाले मलाई निकै सहयोग ग¥यो । जीवनका अनेकन उकाली ओरालीमा मैले भोगेको फरक बाटोबाट आफुलाई नयाँ क्षेत्रमा ल्याइ वास्तविकतालाई मूर्तिमार्फत व्यक्त गर्ने प्रयत्न गरेको छु’ सारुले आफ्ना मूर्तिका विषयमा बताए ।