काठमाडौं । अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपाल च्याप्टरले पाटनस्थित नेवाःछे आर्ट ग्यालरीमा सामूहिक जलरङ प्रदर्शनी गरेको छ । १३ जना कलाकार सहभागी सो प्रदर्शनीमा एनबि गुरुङ, डिराम पाल्पाली, देवेन्द्र थुम्केली, लालकाजी लामा, दिपेन्द्रमान बनेपाली, केशव राज खनाल, भीम श्रेष्ठ, दामोदर बराल, डिबी राई, सुरेश स्याङतान, विश्व पराजुली, सुर्य बराइली र विनोद गुप्ताका दुई दर्जन बढी जलरङबाट बनाइएका कलाकृति राखिएको छ ।
८० देशमा शाखा रहेको सोसाइटीको नेपाल च्याप्टरले नेपालमा पहिलोपटक प्रदर्शनीको आयोजना गरेको अध्यक्ष एनबि गुरुङले बताए । नेपालमा जलरङमा कला रचना गर्ने कलाकारलाई समेट्दै नेपाली कला र कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा लैजान संस्थाले काम गर्ने अध्यक्ष गुरुङले बताए ।
‘प्रदर्शनीमा राखिएका कलाले नेपाली परिवेश, वातावरण र समाजलाई कलात्मक रुपमा चित्रण गरेको छ । साथै हाम्रो कलाको वर्तमान अवस्था कस्तो रहेको छ, त्यो समेत निर्दिष्ट गर्न यो प्रदर्शनीको महत्व रहेको छ,’ नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष एवम् सहभागी कलाकार केशव राज खनालले बताए ।
नेपाली समाजमा जलरङ माध्यमबाट बन्ने चित्रलाई चिनाउन र नेपाली कला र कलाकारलाई विदेशसम्म लैजान सोसाइटीको महत्व रहेको सहभागी कलाकार भिम श्रेष्ठले बताए । उनले थपे, ‘संस्थागत रुपमा काम गर्दा नेपाली कलालाई चिनाउन सहयोग पुग्ने भएकाले यो संस्थामार्फत नेपालमा प्रदर्शनी गरिएको हो । आगामी दिनमा नेपाली जलरङमा काम गर्ने कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा लैजान पनि संस्थाले सहयोग गर्ने लक्ष्य राखेको छ ।’
नेपालका विभिन्न प्राकृतिक दृश्य, संस्कृति तथा सामाजिक जीवनलाई कलात्मक रुपमा उतारेका कलाकृति प्रदर्शनीका मुख्य आकर्षण रहेका छन् । नेपाली पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने गरी प्रदर्शनी गरिएको छ । आगामी नोभेम्बरमा सोसाइटीले नेपालमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी र कार्यशाला गर्न लागेको छ, जसमा ३० भन्दा बढी देशका कलाकार सहभागी हुने जनाइएको छ ।