मञ्चमा ‘कान्छी, भट्टी र देश’
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
no img

काठमाडौं । फागुन ३ गतेदेखि कवि कृष्ण सेन इच्छुकको कवितामा आधारित कविता–नाटक ‘कान्छी, भट्टी र देश’ काठमाडौं र ललितपुरका विभिन्न प्रेक्षालय र नाटकघरहरुमा मञ्चन भएको छ । प्रगतिवादी धाराका शसक्त कवि इच्छुकको ‘कान्छी, भट्टी र देश’लाई सूत्रधार, कवि र बिम्वात्मक पात्रहरुका माध्यमले एक अभिनयका माध्यमबाट रंगमञ्चमा प्रस्तुत गरिएको हो ।

5 Drama by Krishna Shah Yatri
कृष्ण शाह यात्रीको नाट्य परिकल्पना र निर्देशन रहेको यस कविता–नाटकमा अशोक शिवाकोटीको एकल अभिनय रहेको छ । केन्द्रीय पात्र कान्छीको जीवनको दुःख र विवशताको सग्लो चित्रलाई रङ्गमञ्चमा विभिन्न सङ्केत र अभिनयका माध्यमले देखाइएको छ । नाटकबाट भट्टी पसल थापेर बसेकी कान्छीको जीवनको तीतो यथार्थ थाहा लाग्छ । गरिब माइतीको पुरानो दाइजोमा थापिएको पसलमा चियाको कित्ली जस्तै भकभकी उम्लिरहेको दुःखी मन लिएर कान्छी रक्सीका बोतलहरुसित बैशालु यौवनलाई विवशतामा रित्याइरहेकी हुन्छिन् । रङ्गमञ्चमा कान्छीको भट्टीमा भात र मासु पाकेको पनि देखिन्छ । भट्टीमा रक्सी पनि बिक्छ । सँगसँगै कान्छिको प्रेम बिकेको पनि देखिन्छ । दुःखका पहाडमा उक्लिएर कान्छीले कान्छीले सूदूर छाउनी र पराइका मोचाइहरुमा बेखबर पति र मायालुहरुलाई स्नेहपूर्ण भाकामा डाकेको देखेर सूत्रधार अन्त्यमा फेरी भन्छ – ‘कान्छी भट्टी थापि रहिछ’ ।

9 Drama by Krishna Shah Yatri
यस कविता–नाटक खुसी खोसिएका कोसीका अशान्त छालहरु, बन्धकी परेका गण्डकीका बेचैन लहरहरु, कान्छीको रुपको नशा पिइरहेकाहरुका मानिसहरुको विभिन्न भावलाई एकल अभिनयद्वारा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । नाट्यकर्मी कृष्ण शाह यात्रीले यसअघि विभिन्न समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, राष्ट्रकवि माधव घिमिरे, वैरागी काइला, पूर्ण विराम, दिनेश अधिकारी, विप्लव ढकाल, गोवर्धन पूजा आदिका प्रतिनिधि कविताहरुको नाट्य परिकल्पना र निर्देशन गरी काठमाडौंका रङ्गमञ्चमा मञ्चन गरिसकेका छन् । कविता–नाटकसँगै कृष्ण शाह यात्रीको परिकल्पना र निर्देशनमा विजय मल्लको चर्चित नाटक ‘बहुला काजीको सपना’ समेत मञ्चन गरिएको छ ।
६८ वर्षअघि लेखिएको यस नाटकमा चरम गरिबी र अभावका बीच पनि शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी पात्रको सपनालाई दर्शाइएको छ । यात्रीले चालिसको दशकमा यो नाटक पहिलो पटक निर्देशक गरेका थिए । त्यसयता दश जोड दुई कक्षाको पाठ्यक्रममा समेत रहेका यस नाटकलाई रङ्गमञ्चमा स्थापित कलाकारलाई लिई धेरै पटक देखाइसकेका छन् । यस पटक यस नाटकमा किशोर अनुराग, विनोद श्रेष्ठ, अशोक शिवाकोटी, देबु वरा, प्रेम पोडेल, डम्बर ढकाल, अवतार कँडेल, गणेश दुलाल, समीर राई, आशिष खत्री, राजीव धमला, सागर कँडेल आदिले अभिनय गरेका छन् ।
नाटक साइन थिएटरले प्रस्तुत गरेको हो । यी दुई नाटक एकसाथ यो हप्ता केही दिन सुन्धाराको काठमाडौं मलमा रहेको ‘थिएटर मल नाटकघरमा प्रदर्शन हुने निर्देशक यात्रीले बताएका छन् ।

Comments