मोडलिङ र निर्देशनपछि लभस्टोरी फिल्म गर्ने राजको इच्छा
screennepal
प्रकाशित: २०७२, ६ फाल्गुन बिहीबार
no img

काठमाडौं । राज किङ वाइबा पछिल्लो समयको व्यस्त म्युजिक भिडियो निर्देशक मानिन्छन् । १८ वर्षकै उमेरमा निर्देशनतिर लागेका राजले अहिलेसम्म एक सयभन्दा बढी म्युजिक भिडियो र केही चलचित्रमा अभिनय तथा निर्देशन गरिसकेका छन् । तैपनि उनी मिडियामा ओझेलमै छन् । म्युजिक भिडियो निर्देशनसँगै मोडलिङमा समेत सक्रिय राज भन्छन्, ‘काममै बढी ध्यान दिँदा मिडियामा ओझेलमा परियो । अर्को कुरा कसरी मिडियामा जाने भन्ने कुरा थाहा नभएर पनि हो ।’

raj king
राजको सपनाचाहिँ नेपाली फिल्ममा हिरो बन्ने थियो । तर, उनी हिरो भएनन्, बरु मोडलचाहिँ भए । राजले अहिलेसम्म सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । उनलाई विशेषगरी तामाङ भाषाका गीतको भिडियोमा देख्न सकिन्छ । राज भन्छन्, ‘फिल्ममा हिरो भन्ने सोचले नै यस क्षेत्रमा लागेको हुँ, तर हिरो हुन सकिनँ ।’ हिरो बन्ने रहर भने उनको अmभै मरेको छैन । राज भन्छन्, ‘हिरो हुने सपना पूरा नभए पनि सन्तुष्ट नै छु ।’
आधा दर्जनभन्दा बढी तामाङ भाषाको चलचित्रमा नायकका रुपमा अभिनय गरिसकेका राज भन्छन्, ‘मैले तामाङ भाषा र नेपाली गरी दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरिसकेको छु । हिजोआज पनि निर्देशनसँगै मोडलिङमै ब्यस्त छु ।’ तर, राजलाई यतिले मात्र पुगेको छैन । उनी मूलधारकै फिल्ममा जम्न चाहन्छन् ।

raj
‘ल्हाक्साङ कर्पो’ लगायतका फिल्ममा उनले अभनिय गरिसकेका छन् । जुन फिल्मबाट उनले गएको वर्ष ‘तामाङ चलचित्र अवार्ड’मा ‘जुरी अवार्ड’ पाएका थिए । उनी भन्छन्, ‘उक्त फिल्मबाट रेस्पोन्स पनि राम्रै पाएको थिएँ, तर पनि त्यसपछि फिल्म अभिनयलाई भन्दा बढी निर्देशनलाई नै प्राथमिकता दिएँ । अहिले पनि निर्देशन र मोडलिङमै बढी व्यस्त छु ।’ राम्रो व्यानर र सोचेजस्तो विषयवस्तुको फिल्म पाए अभिनय गर्न तयार रहेको उनले सुनाए । राज विशेषगरी लभस्टोरी फिल्ममा अभिनय गर्न चाहन्छन् ।
त्यस्तै, राज म्युजिक भिडियो तथा मोडलिङमा मात्र जमेका छैनन्, उनी ‘तामाङ म्हेन्दोमाया’ गीतको पहिलो निर्देशक पनि हुन् । करिब एक दशकअघि ‘चच्चा राङी’ बोलको तामाङ गीतमा मोडलिङ गरेर यस क्षेत्रमा लागेका राजले केही वर्षयता आफैले कल्चरसमेत चलाउँदै आएका छन् । राजको बालाजुको माछापोखरीस्थित जम्बुलिंग फिल्म प्रालि नामक प्रोडक्शन कम्पनी तथा कल्चर सेन्टर चलाउँदै आएका छन् । मोडलिङ र निर्देशनबाट फुर्सद हुँदा उनी त्यही भेटिन्छन् । ‘म कोरियोग्राफी पछि गर्छु’ राजले भने, ‘मेरो कल्चरमा आफै डान्स सिकाउँने गरेको छु ।’
पछिल्लो समय ‘तामाङ ठिटी’ मा अभिनय गरेका राज भन्छन्, ‘अहिले पनि म सन्तुष्टि नै छु र तर साथीहरु राम्रो व्यानरमा पनि काम गर्नुपर्छ भन्छन् । त्यसैले सोच्दैछु ।’ उनले आफ्नो उद्देश्य नै एक कुसल कलाकार बन्ने रहेको सुनाए । धादिङ सत्यदेवीका राजले भने, ‘गाउँ छाडेर काठमाडौं आउनुको कारण नै कलाकार बन्नु हो ।’ उनले अहिलेसम्म सोचेजस्तै नभए पनि आफ्नो कामप्रति खुसी नै रहेको सुनाए । बिबिएससम्म शैक्षिक अध्ययन गरेर कला क्षेत्र रोजेका राजले भने, ‘गर्न सक्यो भने कलाकारितामा पनि राम्रै भविष्य देख्छु ।’ उनले मोडलिङ र अभिनयमा भन्दा निर्देशनलाई प्राथमिकता दिएको बताए ।

Comments