छलफलमा प्रेमका कुरा : ‘अब प्रेमबारे स्कुल–क्याम्पसमा पढाइनुपर्छ’
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
no img

काठमाडौं । प्रेम केहो ? कसरी हुन्छ प्रेम ? प्रेमको अन्त्य हुन्छ कि हुँदैन ? कस्तो प्रेमलाई सफल भन्ने र कस्तोलाई असफल ? अनि प्रेम र मायामा के भिन्नता छ ? प्रेमबारे यस्तै–यस्तै गन्थन करिब डेढ घन्टा चल्यो । कसैले ‘प्रेम अन्त्य कहिल्यै हुँदैन’ भने । कुनैले चाहिँ ‘प्रेमको अन्त्य हुन पनि सक्छ, नहुन पनि’ भने । प्रेमबारे पछिल्लो तर्क राख्ने अरु कोही नभएर बरिष्ठ तुलसी दिवश हुन् । कवियत्री मोमिला जोशीले भने प्रेमको अन्त्य कहिल्यै नहुने तर्क गर्दैथिइन् ।

pp

त्यस्तै, ‘समर लभ’ र ‘साया’ जस्ता प्रेमबारे उपन्यास लेखक सुविन भट्टराईले भने प्रेमबारे अलिक फरक तर्क राख्दै भने, ‘प्रेम मनमा हुने भएकाले मनमै रहिरहन सक्छ । तर, सबै प्रेम एउटै किसिमको हुँदैन ।’ तर, यसरी प्रेमबारे छलफल गरिरँदा ‘प्रेम प्राप्ती मात्र नभएर त्याग पनि हो’ भन्ने कसैले बताएनन् । बरु प्रेममा स्वार्थ हुने कुरा उनीहरुले राखे ।

प्रेमबारे यी विभिन्न तर्क–वितर्क गर्ने अवसर ‘भ्यालेनटाइन–डे’का दिन (आज) ‘बहकिने मन’ले जुराएको हो । हरेक साता ‘थाहा सञ्चार रेडियो’मा ‘बहकिने मन’ नामक प्रेमबारे कार्यक्रम सञ्चालन गर्दै आएका महावीर विश्वकर्माले ‘भ्यालेनटाइन–डे’ मौका पारेर तुलसी दिवश, सुविन र मोमिलालाई प्रेम वक्ताका रुपमा प्रस्तुत गरेका हुन् । कार्यक्रमको नामचाहिँ ‘प्रेमका कुरा’ राखिएको थियो ।

p1
प्रेमकै सन्दर्भका छलफल गर्ने क्रममा तुलसी दिवशले आफ्नो तन्नेरी अवस्थाको समेत स्मरण गरे । ७४ वर्षको लाइनमा पुगेका अविवाहित तुलसीले विवाह हुनलाई मात्र सफल प्रेम भन्न नहुने तर्क राख्दै भने, ‘विवाह नहुनु नै असफल हो भने त्यसको उदाहरण मै छु । तर, मलाई त्यस्तो लाग्दैन ।’
प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसको प्रांगणमा आयोजित छलफलमा तुलसीले भने, ‘मलाई त प्रेमबारे छलफल गर्नलाई आजकै दिन (प्रेम दिवश) नै पर्खनुपर्छ भन्ने लाग्दैन । अब त प्रेमबारे स्कुल र कलेजमा पनि पढाउन आवश्यक भइसकेको छ ।’ उनले अहिलेको जमानामा आफूलाई मनपरेको केटा वा केटी भए सिधै बाबु–आमासँग भन्न सक्नुपर्ने बताए ।
त्यस्तै, कवियत्री मोमिलाले ‘प्रणय’ शब्द एउटा निश्चित उमेर लक्षित भएकाले प्रेम दिवशलाई प्रणय दिवश भन्न नहुने बताइन् । उनले प्रेम सबै उमेर र वर्गमा हुने बताउँदै भनिन्, ‘यहाँ माया र प्रेममा समेत फरक छ । माया भनेको साना नानीहरु अर्थात् छोराछोरीलाई पनि माया गरिन्छ । तर, प्रेम गरिँदैन । त्यस्तै, प्रणय भन्ने शब्द पनि निश्चित उमेर समूहमा मात्रै लागू हुन्छ ।’

ppp

यौन र प्रेमको सम्बन्धबारे मामिलाले तर्क राखिन् । उनले यौन अर्थात् सेक्सले प्रेमलाई मजबुत पार्ने आफ्नो धारणा राखिन् । छलफलमा उपस्थित श्रोता÷दर्शकले समेत प्रश्न राखेका थिए । उनीहरुले प्रेम वक्ताका रुपमा प्रस्तुत भएकाहरुलाई सोधेका थिए, ‘१० वर्ष प्रेम गरेर पनि विवाह नगरी छुटिएका उदारण थप्रै छन् । यस्ता प्रेमलाई के भन्ने ?’ यस प्रश्नको उत्तर पनि तुलसीले दिए । उनले भने, ‘विवाह नगरी छुटेको भए पनि त्यसको याद आइरहन्छ भने त्यो सफल प्रेम हो किनकि, याद आउनु भनेकै त्यो उनकै प्रेममा डुबिरहेजस्तै हो ।’

Comments