मलेशियामा ‘राहदानी’ले दर्शक रुवाए
screennepal
प्रकाशित: २०७२, २६ माघ मंगलवार
no img

 क्वालालाम्पुर, मलेशिया । वैदेशिक रोजगारको कथाव्याथा बोकेको चलचित्र राहदानीको विदेश प्रिमियर मलेशियामा गरिएको छ । डब्बु क्षत्री निर्देशित यो चलचित्रको मलेशियाको राबाङ स्थित डिजिटल सिनेमा राबाङ हलमा चिनियाँ नयाँ वर्षको अबसरमा पहिलो प्रदर्शनी गरियो ।

IMG_0272

राहदानीको प्रिमियरको क्रममा मलेशियामा बस्ने नेपाली कामदारहरुले आफ्ना पीडा पर्दामा हेर्दा आँसु थाम्न सकेनन् । चलचित्र हेर्दा हेदै अधिकाँस नेपाली स्तब्ध भएका थिए । उनीहरुको आँखा पटक पटक रसाएको थियो । खाडी मुलुक देखि युरोप, अमेरिका, अष्ट्रलिया लगायतका मुलुकमा रोजगारीका लागि बस्दै आएका नेपालीहरुका समस्या र कथाव्याथालाई चलचित्र राहदानीले निकै मिहिन रुपमा उठाएका मलेशियामा यो चलचित्र हेर्ने दर्शकले बताए । राबाङमा यो चलचित्र हेरेपछि दर्शकहरुले फेरी हेर्ने इच्छा व्यक्त गरेको भन्दै मलेशिया प्रदर्शन सँयोजक पूर्ण सुब्बाले राहदानीको पुन प्रदर्शनी स्थानीय डिजिटल सिनेमा राबाङ हलमा १४ फेबु्रअरी (२ फागुन)मा राखिएको जानकारी गराए ।
यो चलचित्रको राबाङ हलमा प्रिमियर पछि १० फेबु्रअरी देखि १३ फेबु्रअरीसम्म क्वालालाम्पुर, पेनाङ लगायतका स्थानमा प्रदर्शनी कार्यक्रम राखिएको मलेशिया प्रदर्शन सँयोजक पूर्ण सुब्बाले जानकारी गराए ।
यो चलचित्रको मलेशिया प्रदर्शनीमा काठमाडौंका राहदानीका निर्देशक डब्बु क्षत्री र निर्माण समुहका केही व्यक्त मलेशियामा छन् । आफ्नो चलचित्रलाई प्रथम प्रदर्शनीमा दर्शकहरुले अति मनपराएकोमा निर्देशक क्षत्रीले खुसी व्यक्त गरे । आफुले लक्षित गरेको दर्शकले राहदानीलाई सामाजिक यथार्थबादी चलचित्र भनेर सम्बोधन गरेको पनि क्षत्रीले बताए । राहदानी मलेशियामा प्रदर्शन गरेर आफुहरु ३ फागुनमा नेपाल फर्कने उनले जानकारी गराए ।
लक्ष्मीप्रसाद ढकाद, रम्भा पाण्डे, रियाना पात्रबँश, नैनु शमशेर जबरा, कृष्णचन्द्र झा र अभिषेक मान सिंह निर्मित यो चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, मोनिका दाहाल, विकाश जोसी, फुपु तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल लगायतको अभिनय रहेको छ ।

Comments