बिहीबारबाट भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनी हुने
screennepal
प्रकाशित: २०७२, १८ माघ सोमबार
no img

काठमाडौ । केही समययताबाट बढ्दो लोडसेडिङ एवं नाकाबन्दीले दिक्क भएका पाठकका लागि बजारमा आएका नयाँ पुराना साहित्य कृतिहरु पु-याउने उद्देश्य हित डिकुरा पब्लिकेशनले २१ माघ बिहीबारबाट
२ फागुनसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो बृहत् पुस्तक प्रदर्शनी –२०७२’ आयोजना गर्ने भएको छ ।

punya

पुण्यप्रसाद प्रसार्इँ

‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको सो प्रदर्शनी उपप्रधान, गरिबी निवारण तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नेछन् ।

११ दिनसम्म चल्ने यो प्रदर्शनीमा ७५ हजार अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजक सँस्थाको रहेको छ । प्रदर्शनीमा एक सयभन्दा बढी प्रकाशकहरुका दशौं हजार पुस्तक रहने छन् । यस प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र संकलन योग्य क्लासिकल पुस्तकहरुसमेत रहनेछन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने जनाइएको छ । प्रत्येक दिन लेखकसँग साक्षात्कार कार्यक्रमसमेत गरिने छ ।

यस्तै, प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीको विशेष उपस्थिति गराइने छ ।

विभिन्न साहित्यिक संघ–संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाँ र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउनु प्रदर्शनीको उद्देश्य हो ।

पुस्तक प्रदर्शनी संयोजक एवं साहित्यकार पुण्यप्रसाद प्रसार्इँका अनुसार प्रदर्शनीमा पाठकको रुचिलाई ध्यानमा राख्दै विभिन्न उमेर समुहका पाठकका रुचिका पुस्तकहरु पनि उपलब्ध गराइने छ । निजि तथा सामुदायिक पुस्तकालयका निम्ति एकमुष्ट पुस्तक किन्नेहरुका लागि सबै प्रकारका पुस्तक एकै थलोमा पाइने र बिशेष छुटको व्यबस्था गरिने पनि सँयोजक प्रसाईले बताए ।

Comments