‘खुकुरी’पछि ‘खुर्पा’ लिएर आउँदै किशोर, त्यसपछि ‘खुँडा’ रे !
screennepal
प्रकाशित: २०७२, १५ माघ शुक्रबार
no img

काठमाडौं । ‘खुकुरी’ धेरैलाई थाहा छ । भनिन्छ, खुकुरी वीर गोरखालीको शान हो । करिब एक दशकअघि निर्देशक किशोर सुब्बाले यिनै खुकुरीमाथि चलचित्र बनाएका थिए । चलचित्रको नाम थियो, ‘खुकुरी’ नै । अहिले यिनै निर्देशक अर्थात् किशोर सुब्बाले चलचित्र ‘खुर्पा’ बनाएका छन् । यो चलचित्रको प्रदर्शन मितिसमेत तय भइसकेको छ । ‘खुर्पा’ आउँदो १४ फागुनबाट एकसाथ देशभर प्रदर्शनमा आउँदैछ ।

kishor subba

निर्देशक किशोर सुब्बा

‘खुकुरी’पछि चलचित्र ‘खुर्पा’ निर्देशन गरेका किशोरका यतिखेर राजधानीमा छन् । उनी ‘खुर्पा’ को प्रचार–प्रसारका लागि झापाबाट राजधानी आएका हुन् । निर्देशक किशोरका अनुसार ‘खुर्पा’ नारी प्रधान एक्शन चलचित्र हो । हुन त उनको ‘खुकुरी’ पनि एक्शन प्रधान नै थियो । तर, ‘खुकुरी’ पुरुषप्रधान थियो भने ‘खुर्पा’ नारी पात्र केन्द्रित छ । ‘नामैले खुर्पा नारी प्रधान हो भन्ने खुल्छ’ खुर्पाबारे स्पष्ट पार्दै किशोर भन्छन्, ‘खुर्पा गाउँघरका महिला अर्थात् नारीले बोक्ने हतियार हो । पुरुषले खुकुरी बोकेजस्तै महिलाले आत्मरक्षाका लागि गाउँघरका महिलाले कम्मरमा खुर्पा भिर्ने गर्छन् ।’
किशोर एक्शन प्रधान चलचित्र बनाउन रुचाउँछन् भन्ने बुझ्न ‘खुकुरी’ र ‘खुर्पा’ नै काफी छ । त्यस्तै, आफ्नो आगामी चलचित्र पनि एक्शन नै हुने उनले बताए । हाल ‘खुर्पा’ को प्रमोसनमा व्यस्त रहेका किशोरले भने, ‘चाँडै नयाँ प्रोजेक्ट पनि सुरु गर्दैछु । अब ‘खुँडा’ बनाउँदैछु ।’ खुकुरी, खुर्पा अनि खुँडाजस्ता नाम सुन्दै आङसिरिङ हुने हतियारकै नाममा कि चलचित्र बनाउँनुहुन्छ ? किशोरले भने, ‘किनकि, म एक्शन चलचित्र निर्देशन तथा निर्माण गर्न रुचाउँछु ।’

kkkkk
‘खुर्पा’ चार जनाको लगानी तयार भएको चलचित्र हो । जसमा हस्त लिबाङ मुख्य निर्माता रहेका छन् । त्यस्तै, ‘खुर्पा’ मा विराज आङ्देम्बे, विशाल थेबे र पदम चेम्जोङको पनि लगानी छ । करिब ५० लाख रुपैयाँ लगानीमा ‘खुर्पा’ तयार भएको किशोरले बताए । ‘अहिले प्रमोसनमा खर्च भइरहेको छ’ किशोरले भने, ‘निर्माण प्रारम्भदेखि प्रमोसनसम्म आइपुग्दा करिब ५० लाख रुपैयाँ खर्च भएको छ ।’ तर, यतिका रकम खर्च भए पनि उनी आफ्नो चलचित्रले लगानी उठाउँछ भन्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘यसपटक चाहिँ हामी शेफ हुन्छौ भन्ने मलाई पूर्ण विश्वास छ किनकि केही स्थानमा हामीले च्यारिटी समेत गरिसकेका छौं भने अझै गर्नेछौं ।’
चलचित्र ‘खुर्पा’ को ६० प्रतिशत छायांकन पूर्वी नेपालमा गरिएको छ भने बाँकी काठमाडौंमै गरिएको हो । किशोरका अनुसार पूर्वमा मोरङको केराबारी, इटहरी, इलामको फिकललगायतका स्थानमा ‘खुर्पा’ को छायांकन गरिएको हो ।
चलचित्र ‘खुर्पा’ मा पुष्पा लिम्बूको भरपूर्ण एक्शन दख्न सकिने किशोरले बताए । पुष्पाको को–एक्टरमा सविन श्रेष्ठ छन् । त्यसैले ‘खर्पा’ मा एक्शन मात्र नभइ प्रेम र रोमान्स पनि पाउन सकिने छ । साथै चलचित्रमा रोशन श्रेष्ठ, सुषमा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, उपासना नेम्बाङ, सिमान्त उदास, युवराज लामा, हस्त लिबाङ र पुष्प श्रेष्ठको पनि मुख्य अभिनय छ । संगीत निरज कुमार, नृत्य गोविन्द राई र द्वन्द्व शंकर महर्जन रहेको ‘खुर्पा’ लाई कुमार बखतीले खिचेका हुन् ।

Comments