काठमाडौं । राजधानीको नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिर छेवैमा नयाँ नाटक घर निर्माण भएको छ ।
नयाँ नाटक घर ख्वापा नाट्यशालाको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नाट्यकर्मी साथै टेलिभिजनका कलाकारको बाक्लो उपस्तिथीमा नाटक घरको उद्घाटन गरिएको थियो । बरिष्ठ नाट्यकर्मी तथा प्रमुख अतिथि प्रचण्डमान मल्लले नाटकघरको विधिवत् रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति प्रचण्डमानले नाटक क्षेत्रमा आफूले ठूलो संघर्ष गरेको स्मरण गर्दै युवाले मिलेर नाटकघर निर्माण गर्नु खुशीको कुरा रहेको बताए । अझ यो नाटकघरले यसका वरपरका बासिन्दालाई नाटक हेर्न प्रेरित गर्नुपर्ने उनले बताए । नेपाली नाटक क्षेत्रमा हाल बुढाभन्दा पनि युवाको जमात लागेका उनले बताए । चार महिनाको अवधिमा निर्माण गरिएको नाटकघर निकै राम्रो रहेको र यति चाँडो नाटकघर निर्माण कहिल्यै नभएको पनि उनले बताए ।
उनले भने, ‘मैले नाट्यकर्मी बालकृष्ण समसँग नाटक गर्दाको अनुभव कोट्याउँदै भने त्यतिखेर विदेशी नाटकहरुलाई बढी प्राथमिकताका साथ गरिन्थ्यो ।’ उनले बालकृष्ण समकै पालादेखि नेपाली भाषामा नाटक गर्न शुरुवात गरेको बताए । उनले ख्वापा नाट्यशालाको प्रगतिका लागि शुभकामना दिए । काठमाडौमा नाटकघर चार वटा सञ्चालनमा छन् । त्यसै भिडमा ख्वापा नाट्यशाला थपिएकोमा नाटक क्षेत्रको निकै सम्भावना रहेको बताए ।
त्यस्तै चर्चित हास्य टेलिश्रृङखाला मेरी बास्सैका ठुलामुख भनेर चर्चामा आएका कल्याण राईले नाटक क्षेत्रको चर्चा गरेका थिए । उनले ३३ वर्षको संघर्षमा यस्तो स्थान पाएको भन्र्दै नाटक क्षेत्र संघर्ष गर्ने मैदान रहेको बताए । सरकारले नाट्यकर्मीलाई नहेरेको प्रति गुनासो व्यक्त गरे । त्यस्तै, साहित्यकार सुशील पोखरेलले ख्वापा अर्थात मुखौटाको कविता बाचन गरेका थिए । ख्वापा भनेको नेवारी भाषाको शब्द हो, जसको अर्थ मुखौटा हो । यस नाट्यशालामा साहित्यका विभिन्न विद्यालाई समेटिने भएकाले एकै चोटीमा भन्नुपर्दा मुखौटा भनिएको कार्यक्रम सञ्चालक प्रविण खड्गीले सुनाए ।
उद्घाटन समारोहमा ख्वापा नाट्य समुहले १५ मिनेटको सांकेतिक नाटकमा प्रस्तुत गरेका थिए । कला, संगित र साहित्यले मान्छेलाई कसरी बाँधेको हुन्छ भनेर सांकेतिक रुपमा नाटक प्रस्तुत गरिएको थियो । जस नाटकलाई परिकल्पना लेखन नारायण नेपालले गरेका थिए भने निर्देशन सम्झना मगरले गरेकी थिइन् ।
माया तामाङ, उमा तामाङ, अजय नेपाल, सचिन कडेँल, दीक्षा चौलागाई, विपना गिरि, सविना श्रेष्ठ, राजन थापा, छिरिङ डोल्मा शेर्पाका अलवा सम्झना मगरले अभिनय प्रस्तुत गरेका थिए । ख्वापा नाट्य समुहले निकट समयदेखि नै नियमित नाटक मञ्चन गर्ने तयारीमा जुटेको कलाकार भोला अधिकारीले जानकारी दिए ।