बराम्चीबासीलाई धुर्मुस–सुन्तलीको न्यानो ब्ल्याङ्केट (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २० पुष सोमबार
no img

काठमाडौं । हास्य कलाकार दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्पपीडितलाई न्यानो दिएका छन् । अत्याधिक चिसोका कारण भूकम्पपीडितको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्चीका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिका ‘एनएसटी’ले सिंगो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो । चिसो बढेर भूकम्पपीडितको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको ‘एनएसटी’ ले जनाएको छ ।

d3

भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जतिसक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको धुर्मुसले बताए । सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केही मानिसलाई भएपनि चिसोबाट बचाउन सहयोगका लागि सकेको पहल गरेको उनको भनाइ छ ।

d1
एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको सुन्तलीले सुनाइन् । यसअघि धुर्मुस सुन्तली आफैले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । टहरामा बसिरहेका भूकम्पपीडितलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको सुन्तलीले बताइन् । दिनमा जाडोबाट जसोतसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताइन् ।

d
‘एनएसटी’ का नेपाल संयोजक मधुसुुधन उपाध्यायले भूकम्पपीडितका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताएका छन् । धुर्मुस सुन्तलीले भूकम्पपछि विश्वासीलो र पारदर्शी कामगरेकाले उनीहरुमार्फत सिंगो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाइ छ ।

dhurmus
एक जोडी कलाकारले सिंगो गाविसबासीलाई न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीय जीतबहादुर तामाङले बताए । चिसोका कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस सुन्तली नै सरकार भएको अर्की स्थानीयपुतली मगरले खुशी बाँडिन् । रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानोसँग सुत्ने भन्दै बराम्चीबासीले खुशी व्यक्त गरेका छन् ।

Comments