‘नाकाबन्दी हटाऊ अभियान’मा नेपाली कलाकार सडकमा
screennepal
प्रकाशित: २०७२, ६ मंसिर आईतवार
no img

काठमाडौं । नेपाली चलचित्रकर्मीहरू भारतले गरेको अघोषित ‘नाकाबन्दी हटाउ अभियान’ मा जुटेका छन् । शनिबार राजधानीमा उनीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण चलचित्र क्षेत्रसँग सम्बद्ध निकायलाई समेटेर ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ नामक सञ्जालसमेत बनाए । अभियानका संयोजक हरिहर शर्मा रहेका छन् । उनको टोली तीनबुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका थिए । ज्ञापनपत्रमा अघोषित नाकाबन्दीबारे सरकारको औपचारिक धारणा नआएको र सार्वभौम देशको सार्वभौम नागरिकले पाउनुपर्ने आधारभूत सुविधाबाट वञ्चित रहँदासमेत राज्य मौन रहेको जनाएका छन् । साथै, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्दै मित्र राष्ट्रसँगको सम्बन्ध सुदृढ तुल्याउन संयमतापूर्व कूटनीतिक पहल गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

nepali kalakar

प्रम कार्यालय बालुवाटारमा कलाकार ।

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै जतिसक्दो चाँडो मुलुकले समाधान पाउने गरी अघि बढ्ने जनाए । कला, साहित्य, ज्ञान, विज्ञान, प्रविधिदेखि प्राकृतिक स्रोतसम्ममा सम्पन्न नेपाल ‘गरिब मुलुकको रूपमा चिनिनु विश्वमै असुहाउँदो रहेको’ बताउँदै प्रधानमन्त्रीले आफू दिगो र सर्वागीण विकासका लागि योजनासहित प्रतिबद्ध रहेको बताए । ज्ञापनपत्र बुझाउन ७५ चलचित्रकर्मी बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए । जसमा चलचित्रकर्मी यादव खरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केपी पाठक, जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष केशव भट्टराई, अभिनेत्री वसुन्धरा भुसाल, भुवन चन्ददेखि अभिनेत्री निशा अधिकारी, सपना श्रेष्ठ, रेजिना उप्रेती, बिमला केसी, अभिनेता कृष्ण मल्ल, निखिल उप्रेती, धीरेन शाक्य, रमेश उप्रेती, रवीन्द्र खड्का, उत्तम केसी, गजित विष्ट, दीपकराज गिरी, शिवहरि पौडेल, घनश्याम खतिवडा, निर्देशक राजेन्द्र शलभ, मोहन निरौला, सविन बाँस्तोला, कान्छा निर्देशक सौगात विष्टलगायत थिए ।

Comments