भारतको नाका बन्दी : दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न चीन तयार
screennepal
प्रकाशित: २०७२, ९ आश्विन शनिबार
no img

काठमाडौं । नेपालमा जारी भएको नयाँ संविधानप्रति असन्तुष्ट हुँदै भारतले ‘नाका बन्दी’ गरेपछि उत्तरको छिमेकी राष्ट्र चीनले यसलाई नजिकबाट नियालिरहेको छ । अरुबेला भारतजस्तो नेपालको राजनीतिमा चासो नदिने चीनले यसपटक खुलेरै नेपाललाई सहयोग गर्ने बताएका छन् । पछिल्लो केही दिनयता नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामाग्रीको आपूर्ति सहज बनाउने भएको छ । भारतले नेपालमाथि नाका बन्दी गरेपछि यी छिमेकी मुलुक तातेको हो । केही समययता मधेशमा भइरहेको आन्दोलनको कारण देखाउँदै भारतले तेलसहितका उपभोग्य सामाग्रीको आपूर्ति रोकेको छ । यस अवस्थामा चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Chinese_flag_(Beijing)_-_IMG_1104
चिनियाँ कम्युनिष्ट पार्टी ‘सीपीसी’ को अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिण पूर्व एसिया मामिला हेर्ने उपमन्त्री छङ फेङस्याङले शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेश मास्केसँग कुराकानी गर्दै नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । उनी नेशनल पिपुल्स कंग्रेसको अन्तर्राष्ट्रिय मामिला कमिटिका उपाध्यक्ष पनि हुन् । उपविदेशमन्त्री सरहकै हैसियत राख्ने उपमन्त्री छङ नेपाल मामिलामा बेइजिङमा निकै प्रभावशाली मानिन्छन् ।
उपमन्त्री छङसँग भएको वार्तामा मास्केले नेपालको अहिलेको परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै नेपालीको महान पर्व दशैंसमेत नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सिमा व्यापार सुचारु गरिए धेरै नेपालीले सहजता महशुस गर्ने बताए । ‘पर्वका लागि पनि सहज हुने गरी चीनले नेपालसँगका दुवै नाका खोल्न प्राथमिकता साथ काम शुरु गर्नेछ’, उपमन्त्री छङको जवाफ उद्धृत गर्दै राजदूत मास्केले बताएका छन् । उनले आवश्यक परेमा नेपाललाई दैनिक उपभोग्य सामाग्रीको समेत आपूर्ति गर्न चीन तयार रहेको बताएका छन् । राजदूत मास्केका अनुसार दशैंअघि नै नाका खोल्न चीन अग्रसर छ ।

Comments