आज मिति २०७२ असोज ३ गते आइतबार । नेपाली जनताका लागि एक ऐतिहासिक दिन बन्दैछ । सविधानसभाबाटै जनताको संविधान बनाउने करिब ६ दशक लामो सपना आज साकार हुँदैछ । संविधानसभा सचिवालयले आज साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा एक विशेष समारोहबीच राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान’ प्रारम्भ भएको घोषणा गर्दैछन् र उक्त घोषणासँगै जननिर्वाचि प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनमा आउनेछ र, ‘नेपालको अन्तरिम संविधान–२०६३’ खारेज हुनेछ ।
‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आजैको मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ भन्ने बेहोरामा राष्ट्रपतिले हस्ताक्षर गरी राष्ट्रपति कार्यालयको छाप लागेपछि संविधान निर्माणको सम्पूर्ण प्रक्रिया पूरा हुनेछ । संविधानसभाले भदौ ३० मै पारित गरेको ‘नेपालको संविधान’ को मूलप्रति सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबारै प्रमाणित गरेका हुन् ।
‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित यो संविधान जारी गर्दछौ,’ संविधानको प्रस्तावनामा छ । ३७ भाग, ३०८ धारा र ९ अनुसूचीको संविधान नेपालको संवैधानिक इतिहासकै बृहत् सर्वोच्च कानुन हो ।