मुम्बई । पहिलोपटक सुन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता त्यही हो, जहाँ प्रश्न गर्ने पत्रकार नै माइकले हानिए । माइक उठाएर पत्रकारलाई झटारो हान्न खोज्ने कोही नभए बलिउड अभिनेत्री शिल्पा शेट्टी हुन् । बुधबार एक प्रमोशनल इभेन्टको दौरानमा अभिनेत्री शिल्पाले एक रिपोटरलाई आफू बोलिरहेको माइकले नै झटारो हान्ने प्रयास गरिन् । जब ती पत्रकारले शिल्पाका पति उद्योगपति राज कुन्द्रामाथि प्रश्न तेस्र्याएका थिए, तब शिल्पा रीसले चुर भइन् । रीस थाम्न नसकेकी शिल्पाले ती पत्रकारलाई माइकले हान्न खोजेपछि एक कार्यक्रम नै बिथोलिएको थियो ।
शिल्पाले बुधबार ‘ईबे इन्डिया’ र ‘वेस्ट डिल टिभी’ बीच भएको साझेदारी घोषणाका लागि आफ्ना पति राज कुन्द्राका साथ कार्यक्रम राखेकी थिइन् । जहाँ शिल्पा एक संवाददातासँग कुराकानी गरिहेकी थिइन् । त्यसै दौरानमा जब संवाददाताले उनको विवादमा फसेको आईपीएल टीम ‘राजस्थान रोयल्स’ का बारेमा प्रश्न गरेका थिए, तब शिल्पाको पारो चढेको थियो ।
संवाददाताको प्रश्न सुनेर शिल्पाले ठट्टा गरेको शैलीमा माइकले झटारो हानेकी थिइन् । आफू बोलिरहेको माइक नै उठाएर शिल्पा आक्रोशमा आएपछि उनलाई राजले सम्झाएका थिए । कार्यक्रममा शिल्पाले चाँडै पुस्तक सार्वजनिक गर्ने बताइन् । उनले आफ्नो किताबको नाम भने खुलाइनन् । ‘मेरो किताब सबैको जिन्दगीमा काम लाग्ने हुन्छ,’ शिल्पाले भनिन्, ‘म विश्वास दिलाउन चाहन्छु कि किताब पढेर तपाईंहरु निराश
बन्नु पर्दैन ।’