पाइलट तथा अभिनेता विजयको हलिउड उडान
screennepal
प्रकाशित: २०७२, २३ श्रावण शनिबार
no img

– एमपी सुब्बा

पाइलट पेसासँगै नेपाली फिल्मीमा करिब साढे तीन दशक बिताइसकेका विजयले ‘एभेरष्ट’ नामक एक हलिउड फिल्ममा अभिनय गरेका छन् । जुन फिल्ममा २७ सेप्टेम्बरमा वल्र्डवाइड रिलिज हुँदैछ । फिल्ममा उनलाई कर्णेल मदन केसीको भूमिकामा  देखिँदैछन् ।

काठमाडौं । भनिन्छ, फिल्म क्षेत्रमा काम भन्दा हल्ला बढी हुन्छ । तर, यसै क्षेत्रमा यस्ता मान्छे पनि छन्, जो भित्रभित्रै काम गरिरहेका छन् । तिमध्ये एक हुन् पाइलट तथा अभिनेता विजय लामा । विजय लामा चाँडै नै हलिउडमा छाउँदैछन् ।  हलिउड फिल्ममा काम गरेका विजय भन्छन्, ‘काम गरेर हल्ला गर्नु ठीक हो । म हल्लाभन्दा काम गरेरै देखाउने सोचको व्यक्ति हुँ ।’ पाइलट पेसासँगै नेपाली फिल्मीमा करिब साढे तीन दशक बिताइसकेका विजयले ‘एभेरष्ट’ नामक एक हलिउड फिल्ममा अभिनय गरेका छन् । जुन फिल्ममा २७ सेप्टेम्बरमा वल्र्डवाइड रिलिज हुँदैछ । फिल्ममा उनलाई कर्णेल मदन केसीको भूमिकामा  देखिँदैछन् ।

abc

फिल्म ‘एभरेष्ट’को एक दृश्यमा विजय ।

३३ वर्षे नेपाली फिल्म क्षेत्रको अनुभवपछि पहिलोपटक हलिउडमा पाइला राखेका अभिनेता विजयले भने, ‘हलिउड फिल्ममा काम गरेपछि धेरै कुुराको अनुभव भयो ।’ हलिउडमा काम गरेपछि व्यावसायिकता भन्ने के हो भन्ने कुरा बुझेको उनले बताए । ‘हलिउडका कलाकार कामका पुजारी छन्,’ उनले भने, ‘एउटा कलाकारमा के–के गुण हुनुपर्छ भन्ने कुरा पनि हलिउड फिल्ममा काम गरेपछि थाहा पाएँ ।’

विजय कलाकारितालाई ‘पानी’ को रुपमा परिभाषित गर्छन् । उले भने, ‘कलाकार भनेको पानी जस्तै हुनुपर्छ । पानीको न आकार छ न त रङ नै । त्यस्तै कलाकारको पनि जात, रङ र दर्जा हुँदैन । यो कुरा हलिउड फिल्ममा काम गरेपछि अझ स्पष्ट रुपमा बुझ्ने मौका पाएँ ।’ नाम ‘एभेरष्ट’ भए पनि यो कम्प्लिट हलिउड फिल्म हो । विजयका अनुसार बल्तायर रमुरकर निर्देशित ‘एभेरेष्ट’ जोन क्राकाउरको पुस्तक ‘इन टु थिन एयर’ मा आधारित फिल्म हो । फिल्ममा सन् १९९७ मा सगरमाथामा घटेको घटनालाई चित्रण गरिएको छ ।

Vijaya lama 1

फिल्मका अभिनेता विजयका अनुसार यो फिल्मको छायांकन नेपालका अलावा बेलायत र इटालीमा गरिएको हो । यस फिल्मको छायांकनका क्रममा हलिउडबारे धेरै कुरा सिकेको विजयले बताए । यस वर्षमात्र ७ भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका विजय ‘एभेरेष्ट’ बाट निकै उत्साहित छन् । ‘फिल्ममा मेरो लामो भूमिका त छैन,’ उनले भने, ‘तर छोटो भए पनि स्ट्रग छ ।’ यस फिल्मको रिलिजसँगै आफ्ना लागि हलिउडको बाटो खुल्न सक्ने उनको अपेक्षा छ । ‘३३ वर्षे मेरो फिल्म करिअर अनि यो ५० वर्षको उमेरमा हलिउड फिल्म खेल्ने अवसर पाएको छु,’ क्याप्टेन तथा अभिनेता विजयले भने, ‘यो मेरा लागि मात्र नभई सम्पूर्ण नेपालीकै गर्वको कुरा हो ।’

यस फिल्ममा अभिनयको अवसर भने उनलाई अनपेक्षित रुपमा मिलेको थियो । फिल्म ‘एभेरेष्ट’ युनिटले अंग्रेजी भाषा राम्रो बोल्न सक्ने, हेलिकोप्टर उडाउन जान्ने र विमानको प्रविधिबारे जानकार अभिनेता खोज्दै गर्दा विजयलाई भेटेका थिए । फिल्मको युनिटले विजयलाई पहिलो भेटमा ‘ओके’ गरेका थिए ।

विजयले सन् १९८५ देखि विमान उडाउँदै आएका हुन् । तर, उनी पाइलट बन्नुभन्दा पहिले फिल्म अभिनयमा लागेका थिए । सन् १९९८२ मा रिलिज भएको नेपाली फिल्म
‘आदर्श नारी’ मार्फत फिल्मी करिअर सुरु गरेका विजयले भने, ‘म १८ वर्षकै उमेरमा फिल्ममा हिरो बनेको हुँ । सायद यति कम उमेरमा हिरो हुनेमै पहिलो हुनसक्छ ।’ विजयले फिल्मी अभिनय र विमान चालकको पेसालाइ निरन्तर अँगाल्दै आएका छन् । कलाकरितामा निरन्तर सक्रिय हुँदै आए पनि पाइलट आफ्नो पेसा भएको विजयले बताए । ‘पाइलट बन्ने मेरो सानैदेखि इच्छा थियो,’ उनले भने, ‘कलाकारितालाई सुरुमा सौखका रुपमा अँगालेको हुँ । अहिले पनि मुख्य पेसाका रुपमा विमान उडानलाई लिएको छु । साथै, यहाँ कलाकारितासँगै अर्को पेसा अपनाउनुपर्ने अवस्था छ ।’

नेपाल एयरवेजका वरिष्ठ क्याप्टेनका साथै प्रशिक्षक र स्रोत व्यवस्थापकसमेत रहेका विजयले केही वर्षयता एयर बस उडाउँदै आएका छन् । केही समयअघि मात्र फ्रान्सको टुलुज सहरमा एयर बसको तालिम सकेर आएका विजय भन्छन्, ‘पहिलेजस्तो म अहिले धेरै उडान भर्दिनँ । केही समययता साताको दुई दिनमात्र उडान भर्दै आएको छु ।’ प्रायः नयाँदिल्लीको उडान गर्दै आएका विजयले भने, ‘हामी चाँडै मुम्बई र बेंग्लोरमा पनि उडान सुरु गर्दैछौं ।’

यसरी एयर बस उडानका व्यस्त हुँदै आएका विजयले अभिनयलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छन् । ‘इच्छा भएपछि समय मिलाउन सकिँदोरहेछ,’ आफ्नो व्यस्तताबारे विजयले भने, ‘मैले एयर बसको उडान र अभिनयसँगै टेलिभिजन कार्यक्रम पनि गर्दै आएको छु । यो सबै इच्छाले गरेको काम हो ।’ विजयले ईमेज टेलिभिजनमा ‘ब्ल्याक एन्ड ह्वाइट’ नामक कार्यक्रममा सञ्चालन गर्दै आएका छन् । तर, सबैभन्दा धेरै मोह भने उनको अभिनयमै छ । उनी भन्छन्, ‘अझै पनि मेरो अभिनयको तिर्खा मेटिएको छैन ।’ ‘एभरेष्ट’ हलिउडमा आफ्नो बाटो खुले पेसाबाट केही समयका लागि बिदा लिएर भए पनि अभिनय गर्ने इच्छा
उनले सुनाए ।

‘यदि हलिउडबाट प्रस्ताव आएमा समय मिलाउन तयार छु,’ उनले भने, ‘मेरो लागि मात्र नभएर सम्पूर्ण नेपालीको शानका लागि पनि हलिउड फिल्म खेल्न तयार छु ।’ नेपालीकै शान र गौरवका लागि फिल्म ‘एभेरेष्ट’ मा केही डाइलग आफंैले बनाएर बोलेको उनले सुनाए । उनका अनुसार फिल्मको केही दृश्यमा नेपाली भाषा बोलिएको छ, जसमा विजयले एउटा डाइलगमा भनेका छन्, ‘जय गोर्खाली’ ।

कुनै समय नेपाली फिल्म क्षेत्रमा स्टारमा रुपमा चिनिएका विजयले करिब चार दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । ट्रक ड्राइभर, चोखोमाया, राँकोजस्ता सुपरहिट फिल्ममा अभिनय गरेका विजयले कामअनुसारको चर्चा पाउन भने सकेका छैनन् । न त उनले योगदान गरेअनुसार सम्मान र पुरस्कार नै पाएका छन् । आफ्नो काममा निडरसीप विजय भन्छन्, ‘सम्मान र पुरस्कार पाउनका लागि काम गरेको होइन । मेरो लागि दर्शक नै सबैभन्दा ठूलो पुरस्कार सम्मान हो । त्यसैले राज्यले मलाई सम्मान गर्नैपर्छ भन्ने लाग्दैन ।’ उनले अहिलेको समयमा नेपाली फिल्म पनि राम्रो बन्न थालेको बताए ।

पछिल्लो समय नेपाली फिल्म ‘माला’ हेरेका विजयले भने, ‘अहिले कलाकारिता क्षेत्रमा पनि शिक्षित व्यक्तिहरु आउन थालेका छन् । यो खुसीको कुरा हो ।’ गायकसमेत रहेका विजय पछिल्लो समय समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । न्यानोपन अर्गनाइजेसनका अध्यक्ष विजयले भने, ‘आफ्नो पेसा त छँदैछ, त्यसबाहेक समाजसेवा पनि मेरो रुचिको विषय हो । मैले १३ वर्षदेखि समाजसेवा पनि गर्दै आएको छु ।’

Comments