इरफानलाई फाप्यो डाइनासोर पार्क
screennepal
प्रकाशित: २०७२, १ असार मंगलवार
no img

यतिखेर हलिउड फिल्म ‘जुरासिक वल्र्ड’ले चर्चा पाइरहेको छ । यो फिल्म संसारका पर्दामा रिलिज भइरहेको छ । गएको साता रिलिज भएको यो फिल्म नेपाली दर्शकले पनि रुचाएका छन् । बलिउडमा ‘जुरासिक वल्र्ड’ले राम्रै चर्चा पाइरहेको छ । यसमा सबैभन्दा खुसी त अभिनेता इरफान खानलाई भएको छ । युवापुस्ताको ढुकढुकी बन्न सफल यी बलिउड अभिनेता इरफान आफ्नो हलिउड फिल्म सफल भएकोमा दंग मात्र छैनन् । यसलाई आफ्नो हलिउड छिर्ने खुड्किलो बनेको समेत बताएका छन् । भारतीय मिडियासँग इरफानले भनेका छन्, ‘जुरासिक वल्र्डको सफलता भनेको मेरो पनि हो ।’ यस फिल्ममा इरफान डायनासोर पार्कको मालिक साइमन मसरानीको भूमिका निर्वाह गरेका छन् । फिल्म सफल भएपछि अहिले इरफानलाई डाइनासोर पार्कको मालिक बन्न फापेको चर्चा हुन थालेको छ ।

irrfan-nov5
इरफानले एक अन्तर्वातामा भनेका छन्, ‘हामी सबैका लागि ‘जुरासिक वल्र्ड’को सफलता एक रेकर्डका रुपमा आएको छ । मैले  भारत र विदेशबाट समेत यसको सफलताबारे प्रतिक्रिया पाइरहेको छु । एकदमै खुसी लागेको छ ।’ उनले फिल्म सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘जुरासिक वल्र्ड’ ले पहिलो दिनमै संसारभरमा २० करोड डलरभन्दा माथि कमाएको थियो । यो अतिसफल फिल्म ‘जुरासिक पार्क’ (१९९३) को सीक्वल हो । यस फिल्ममा इरफानका अलावा हलिउड अभिनेता क्रिस प्रैट र ब्राइस डलास हावार्डको पनि मुख्य भूमकिा छ ।

Comments