नाईं नभन्नु ल–३ : ३ दिनमा ७३ लाख रुपैयाँको ग्रस कलेक्शन
screennepal
प्रकाशित: २०७१, २९ चैत्र आईतवार
no img

काठमाडौं । चलचित्र ‘नाईं नभन्नु ल–३’ शुक्रबारदेखि देशका ४० भन्दा बढी सिनेमा हलमा रिलिज भइरहेको छ । चलचित्रले सुरुवाती व्यापारसमेत राम्रो गरिरहेको छ । निर्माणपक्षका अनुसार रिलिजको तेस्रो दिन आइतबारसम्ममा चलचित्रले ७३ लाख रुपैयाँ बढीको ग्रस कलेक्शन गरेको छ । दोस्रो दिन आउँदा शनिबार ५७ लाख रुपैयाँको कारोबार गरेको थियो । आइतबार १६ लाख रुपैयाँको कारोबारसहित ७३ लाख रुपैयाँको ग्रस कलेक्शन गरेको हो । शनिबार अष्टनारायण सिनेमा हल हाउसफुल भएपछि तनावसमेत भएको थियो ।

nai-na-bhannu-la-3

वर्ष ०७१ को अन्त्यमा रिलिज भएको चलचित्र ‘नाईं नभन्नु ल–३’ ले अपेक्षा गरेभन्दा रामं्रो व्यापार गरिरहेको छ । सिनेमा हल हाउसफुल भएपछि निर्माणपक्ष दंग छन् । चलचित्र ‘नाईं नभन्नु ल–३’ सिंगल पर्दालगायत मल्टिकम्प्लेसको बिग, क्युएफएक्सलगायत हलमा रिलिज भइरहेको भएपनि गोपीकृष्ण मुमिजमा भने लागेको छैन । ‘नाईं नभन्नु–२’ प्रदर्शन गरेवापत ४ लाख रुपैयाँ दिन बाँकी रहेकाले चलचित्र रिलिज गर्न नदिएको स्रोतको भनाइ छ । चलचित्र ‘नाईं नभन्नु ल–३’ को निर्माणपक्ष स्रोतले भन्यो, ‘अघिल्लो चलचित्रबाट ४ लाख असुल्न बाँकी छ । त्यो रकम उपलब्ध नगराएकाले गोपीकृष्णमा रिलिज नगरिएको हो ।’ ती स्रोतका अनुसार गोपीकृष्णले चलचित्र प्रदर्शन गरेर वितरक सुनिल मानन्धरलाईसमेत लाखौ रकम दिएका छैनन् । विकास आचार्यको लेखन तथा निर्माणरहेको ‘नाईं नभन्नु ल–३’ को निर्देशन मुस्कान ढकालले गरेको हुन् । मुस्कानको यो पहिलो निर्देशित चलचित्र हो । चलचित्रमा सुरजसिंह ठकुरी, सञ्चिता लुइँटेल, प्रियंका कार्की, आर्यन सिग्देल, गरिमा पन्त, अनुभव रेग्मीलगायत कलाकारको अभिनय छ । यो चलचित्रले वर्षको अन्त्यमा आएर नयाँ रेकर्ड राख्ने अनुमान गरिएको छ । नयाँ वर्ष छेक परेकाले पनि अझ व्यापार बढ्ने निर्माणपक्षको दावी छ ।

Comments