पाँचौं नेपाल–अफ्रिका फिल्म महोत्सवमा ‘मसान’ र ‘रंग बैजनी’
screennepal
प्रकाशित: २०७१, २६ चैत्र बिहीबार
no img

काठमाडौं । ‘पाँचौं नेपाल अफ्रिका चलचित्र महोत्सव–२०१५’ ११ जेठदेखि १३ जेठसम्म काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा हुने भएको छ । राजधानीको बालकुमारीमा रहेको ‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन ‘सिजेएमसी’ले यो महोत्सव आयोजना गर्न लागेको हो । पाँच वर्षदेखि नेपाल अफ्रिका चलचित्र महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवका यसपटक लागि दर्जन बढी नेपाली चलचित्र प्रारम्भिक छनोटका लागि सहभागी थिए, जसमध्ये नीर शाह निर्देशित ‘मसान’ र शम्भु प्रधान निर्देशित ‘रंग बैजनी’ चयन भएका छन् । चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, डा. मञ्जु मिश्र, ध्वनि विशेषज्ञ आलोक तिवारी र चलचित्रकर्मी आदिम आचार्यको चलचित्र चयन समितिले यी दुई चलचित्र छनोट गरेको हो ।

Rang-Baijani
गोपालप्रसाद रिमालको नाटक ‘मसान’ मा आधारित चलचित्र ‘मसान’मा तत्कालीन समाजमा पत्नीबाट सन्तान नहुँदा दोस्रो पत्नी विवाह गर्ने पवृत्तिलाई समेटिएको छ । यस चलचित्रले विभिन्न देशका चलचित्र महोत्सवमा सहभागिता जनाइसकेको छ । यस चलचित्रमा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगानालगायतको अभिनय छ । नारीप्रधान चलचित्र ‘रंग बैजनी’ मा गरिमा पन्त, दिक्पाल कार्की र सुमिना घिमिरेको त्रिकोणात्मक प्रेमकथा रहेको छ ।
‘पाँचौँ नेपाल अफ्रिका चलचित्र महोत्सव–२०१५’ का लागि विभिन्न अफ्रिकाका २० ओटा मुलुकबाट सम्बन्धित देशका ५० ओटा चलचित्र सहभागी छन् । ती चलचित्रलाई अहिले निर्णायक समितिले चयनका लागि हेरिरहेको कलेजकी प्रिन्सिपल तथा महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराइन्् । महोत्सवमा अफ्रिकी मुलुकका ८ ओटा र नेपालीका २ ओटा गरी जम्मा १० ओटा चलचित्र प्रदर्शनी गरिने भएको छ ।
अफ्रिकी मुलुकबाट प्राप्त ५० मध्ये ८ वटा चलचित्रको चयन यसै साताभित्र गरिने महोत्सव निर्देशक मिश्रले बताइन् । यसपटकको महोत्सवमा अफ्रिकी मुलुकका चर्चित कलाकार एवं चलचित्र निर्देशकका साथै विभिन्न विश्वविद्यालयका १२ जना प्रोफेसर पनि सहभागी हुने बताइएको छ ।

Comments