भेडी गोठ लिएर आइन् लक्ष्मी (भिडियो र अन्र्तवार्तासहित)
screennepal
प्रकाशित: २०७१, ५ चैत्र बिहीबार
no img

कविता लेखन हुँदै गायिका बनेकी लक्ष्मी राईले आफ्नो पहिलो एल्बम ‘पहिलो भेट’ को दुई वटा म्युजिक भिडियो एकसाथ सार्वजनिक गरेकी छन् । लामो संगीतको साधनापछि सोलो एल्बम ल्याएकी लक्ष्मीले एल्बमको ६ गीतमध्ये ‘भेडी गोठ’ र ‘पहिलो भेट’ बोलको म्युजिक भिडियो बनाएकी हुन् । अन्य ४ गीतको पनि म्युजिक भिडियो निर्माण गर्ने उनले बताइन् । कविता लेखनमार्फत गायनमा प्रवेश गरेकी लक्ष्मी कवि तथा गीतकार पनि हुन् । ‘पहिलो भेट’ मा उनकै शब्दरचना छ ।

laxmi
कविता लेख्दालेख्दै गायन अँगाल्ने सुर कहाँबाट चढ्यो ?
सानैदेखि गाउने मेरो रुचि हो । तर, गाउँमा हुँदा गीत रेकर्ड गर्ने सम्भव नभएकाले मनको अभिव्यक्ति पोख्न कविता लेख्ने गर्थेँ । राजधानीमा आएपछि चाहिँ रहर पूरा गर्नलाई संगीत सिक्न थालेँ । त्यसपछि ‘पहिलो भेट’ ल्याएकी हुँ ।
श्रोतामाझ ‘पहिलो भेट’ ले कस्तो प्रतिक्रिया पाइरहेको छ ?
जतिले सुने, उहाँहरुबाट राम्रै प्रतिक्रिया पाइरहेकी छु । भनेजस्तो एल्बम प्रमोसन गर्न पाएकी छ्रैन । भर्खरै एल्बमको ‘भेडी गोठ’ र ‘पहिलो भेट’ बोल गीतको भिडियो बनाएकी छु । अब प्रमोसन गर्ने सोचमा छु ।
‘पहिलो भेट’ कस्तो एल्बम हो ?
एल्बममा ६ वटा गीत छन् । ६ वटै गीत फरक–फरक किसिमका छन् । मेरो पहिलो एल्बम भएकाले पनि सबै किसिमका गीत समेट्ने प्रयास गरेकी हुँ । म विशेषगरी चेतनामूलक तथा सन्देशमूलक गीत गाउन रुचाउँछु । ‘पहिलो भेट’ मा पनि केही सन्देशमूलक गीत छन् ।
एल्बमको ‘भेडी गोठ’ बोलको गीत कस्तो गीत हो ?
यो एउटा सन्देशमूलक गीत हो । यहाँ गाउँदेखि सहर र सहरबाट बाध्यतावस विदेश जाने अवस्था छ । तर, मान्छे जहाँ गएपनि आफू जन्मेको गाउँठाउँ विर्सन्दैन । यो गीतले यस्तै सन्देश दिन्छ । काठमाडौं आएपछि म जन्मेको गाउँ सम्झेर यो गीत तयार गरेको हुँ ।
एल्बममा कति लगानी गर्नुभयो ?
कति खर्च भयो भन्ने हिसाबै गरेकी छैन । अझैपनि खर्च हुने क्रम जारी छ । तर, अरुले भनेजस्तो धेरै खर्च गरेकी छैन । अहिलेसम्म दुई भिडियोसहित ३ लाख रुपैया खर्च भयो हो ।
गायनमा लागेपछि कविता लेख्न छाड्नुभएको हो ?
चटक्कै छाडेकी छैन । समय नभएर हो । गायन वा कविता जे भएपनि मनको अभिव्यक्ति पोखाउँने हो । हिजोआज कविता कोर्न नपाएपनि गीतमार्फत आफ्नो मनको बह पोखाउँदै आएकी छु ।

Comments