काठमाडौं । पछिल्लो समय पाश्र्व गायनमा चर्चामा आएका युवराज चौलागाईं धोबिधारास्थित म्युजिसियन रेकर्डिङ स्टुडियोमा भेटिए, जहाँ उनी निर्माणधिन चलचित्र ‘लालजोडी’ को ‘दुखले म मातेको छु, हजार सपना टुटे पनि घिटी घिटी’ गीत गाउनमा ब्यस्त थिए । युवराजलाई म्युजिकमा ‘गाइड’ गरिरहेका थिए, संगीतकार सन्तोष श्रेष्ठले ।
आधुनिक तथा लोकसंगीतका चर्चित संगीतकार सन्तोष यसै गीतमार्फत पहिलोपटक चलचित्र संगीतमा लागेका हुन् । नयाँ बर्षसँगै सुटिङ सुरु हुने ‘लालजोडी’ को उल्लेखित गीत निर्देशक लक्ष्मण सुवेदीले लेखका हुन् । ‘एउटा साथी’मार्फत निर्देशनमा डेब्यु गरेका सुबेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने यो चलचित्रको एउटा डोयट गीत राजेशपायल राई र मनिषा पोखरेलले यसअघि गाइसकेका छन् ।
चलचित्रको सिच्युसनअनुसार सेन्टिमेन्टल गीत भएकाले आफैले रचेको निर्देशक सुवेदीले बताए । गायक युवराजले यो गीतमा मन छुने शब्द भएकाले धेरै दिनको मिहिनेतपछि रेकर्डिङ गरिएको बताए । उनले भने, ‘यस गीतले आममानिसको जिन्दगी बोलेको छ । त्यसैले मलाई यस गीतबाट धेरै आशा गरेको छु ।’ गीतको एरेन्ज सुदीप सागरले गरेका हुन् ।
संगीतकार सन्तोषले आफूलाई यही गीतले चलचित्र संगीतमा स्थापित गराउने विश्वास ब्यक्त गरे । ‘एकदम भावुक गीत छ । संगीत पनि उत्तिकै मिठो गर्ने कोसिस गरेको छु । फिल्म संगीतमा यही गीतले मलाई चिनाउने छ भन्ने बिश्वासछ ।’ दिलासा क्रियसनको ब्यानरमा बन्ने ‘लालजोडी’ लाई रामेश्वर कार्कीले खिच्ने भएका छन । सुशील पंगेनीको प्रोडक्शन डिजाइनमा बन्ने चलचित्रमा कलाकार तथा प्राबिधिकको छनोट कार्य तिव्र रुपमा भइरहेको निर्देशक सुवेदीले बताए ।