अभिनेताका रुपमा रुचाइएलान् नेता !
screennepal
प्रकाशित: २०७१, १२ माघ सोमबार
no img
‘बलिष्ठ ज्यानमाथि टाइट टिसर्ट लगाएको देखे/भेटेकै एकजना भाइ भेट्न आएका थिए। मैले सोधेँ, ‘भाइ, कसलाई जेलबाट छुटाउनुपर्‍यो?’ सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले फिल्म ‘सम्बोधन’को ट्रेलर रिलिज कार्यक्रममा मन्तव्य प्रस्तुत गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएका थिए।
मन्त्री रिजालले ‘गुन्डा’ ठानेर ‘कसैलाई छुटाइमाग्न’ आएको ठानेका ती युवा ‘हिरो’ थिए! आउदो शुक्रवारदेखि रिलिज हुने  ‘सम्बोधन’का मुख्य अभिनेता विनय भट्ट। विनयको परिचय हिरोका रूपमा बन्नुअघि विद्यार्थी नेताका रूपमा छ। छ वर्षदेखि त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति पनि छन्। नेपाल विद्यार्थी संघका कार्यकर्ता भएका कारण मन्त्री रिजाल कार्यकक्षमा उनी यसअघि पनि पुगेका थिए। यसपटक फिल्मको हिरोका रूपमा जिम गरेको ज्यान देखिनेगरी पुगेका उनलाई मन्त्रीले ‘गुन्डागर्दी’ गर्ने आफ्ना युवा कार्यकर्ताको ‘नेता’ ठाने।
b722958ae67c45cb147bc68b62d2628a_Lविनयले आफ्नो फिल्मको कार्यक्रममा अतिथिका लागि आग्रह गरेपछि थाहा पाए, विनय ‘गुन्डा’ नभइ ‘हिरो’ रहेछन्। विनय भन्छन्, ‘मन्त्री क्वार्टरमा पुगेर उहाँलाई फिल्मको कार्यक्रमका लागि अतिथि हुनुपर्‍यो भन्दा चकित हुनुभयो।’ अभिनेत्री नम्रता श्रेष्ठसँग जोडी बाँधेर अभिनय गरेको फिल्मको गीत मोबाइलमा हेरेपछि मन्त्री रिजालले नेविसंघका कार्यकर्ता विनयलाई हिरोका रूपमा पत्याए।
नेताका रूपमा त्रिचन्द्रका विद्यार्थीले विनयलाई पत्याएको निकै वर्ष भइसक्यो। स्ववियु सदस्यबाट सुरु गरेको राजनीतिक करिअर छ वर्षदेखि स्ववियु सभापतिका रूपमा ‘ठप्प’ छ। उनलाई टिकट दिन नेविसंघले नपत्याए पनि विद्यार्थीहरूले पत्याएकै कारण उनले त्रिचन्द्रमा ‘विद्रोही’ उम्मेदवारका रूपमा दोस्रो कार्यकालमा उपसभापति जितेका थिए। तेस्रो कार्यकालमा अन्य पदाधिकारी अनेरास्ववियुले जिते पनि सभापतिका रूपमा उनी विजयी भए।
राजनीतिमा उनलाई कुनै बेला उनकै नेताले पत्याएनन्, बरु ‘भोटर’ले पत्याए। यतिबेला उनका नेताले हिरोका रूपमा पत्याइसकेका छन्। तर, उनका अघि मुख्य चुनौती छ, ‘दर्शकले पत्याउँछन् कि पत्याउँदैनन्?

फिल्म अभिनयलाई उनले ‘जोखिम’ ठानेका छन्। किनभने, उसै पनि फिल्म क्षेत्रलाई बौद्धिक वर्गले गम्भीर रूपमा लिँदैन। उनलाई डर छ, ‘राजनीतिमा अघि बढिरहेका पाइला कतै फिल्मका कारण रोकिने त होइनन्?’
फिल्म ‘सम्बोधन’का लागि अफर आउँदा पनि उनले यो विषयमा निकै सोचेका थिए। जति फिल्मको स्त्रि्कप्ट पढ्दै गए, त्यति नै उनको मनमा उत्साह बढ्दै गयो। भन्छन्, ‘अहिलेसम्म मलाई मात्र थाहा छ, फिल्मले मनोरञ्जनका साथै सामाजिक परिवर्तनका लागि पनि सघाउन सक्छ। तर, भदौ ६ गतेपछि यो फिल्म हेर्ने दर्शकले महसुस गर्नेछन्। पूर्ण मनोरञ्जनका माध्यमबाट समाज परिवर्तनका लागि चेतना पनि प्रवाह गर्न सकिन्छ।’
युवाको विषयलाई लिएर बनाइएको फिल्म ‘होस्टेल’बाट चर्चित बनेका निर्देशक हेमराज बीसीले फिल्म ‘सम्बोधन’को स्त्रि्कप्ट लेखन र निर्देशन गरेका छन्। उनीमाथिको विश्वासका कारण पनि विनय आफूलाई अभिनय क्षेत्रमा आउन संकोच नलागेको बताउँछन्।
अभिनेता बन्न विनयलाई संघर्ष निकै गर्नुपर्‍यो। ज्यानको १५ किलो वजन घटाए। नियमित जिम गरे, आफ्नो क्यारेक्टर बुझ्न अनुसन्धान ब्युरोका अधिकृतसँग तालिम लिए (फिल्ममा उनी सीआईबी अफिसरको भूमिकामा छन्)। अभिनय बुझे।
उनलाई लाग्छ, ‘राजनीति सेवा हुनुपर्छ, पेसा होइन।’ त्यसैले उनले फिल्म क्षेत्रलाई पेसा बनाउन चाहन्छन् र राजनीतिलाई सेवाका रूपमा अघि बढाउने सोचेका छन्।
कुमारी हलमा फिल्मको ट्रेलर हेरेपछि मन्त्री रिजालले आफ्ना कार्यकर्ता राजनीति गर्दै अर्काे क्षेत्रमा समेत सक्रिय भएकामा खुशी प्रकट गरेका थिए। सरोज न्यौपानेले निर्माण गरेको फिल्म ‘सम्बोधन’मा विनयसँगै दयाहाङ राई, नम्रता श्रेष्ठ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन्।

 

Comments