सबैले हेर्न मिल्ने ८ वर्षीय सौगातको चलचित्र
screennepal
प्रकाशित: २०७१, १७ मंसिर बुधबार
no img

काठमाडौं । ८ वर्षीय बालक सौगात बिष्ट निर्देशित चलचित्र ‘लभ यु बाबा’ ले सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । २६ मंसिरबाट प्रदर्शनमा आउन लागेको ‘लभ यु बाबा’ लाई मंगलबार चलचित्र सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएको हो । चलचित्र हेरेपछि बोर्डका सदस्यले रुचाएको निर्देशक सौगातका बाबु अभिनेता गजित बिष्टले बताए ।

love u baba
चलचित्र ‘लभ यु बाबा’ मा बाबु–छोरीको कथा चित्रण गरिएको छ । गजितका अनुसार चलचित्र हेरेपछि बोर्डका सदस्यको आँखा रसाएको थियो । चलचित्रमा संगम बिष्ट, गजित बिष्ट, निस्मा घिमिरे, निर्मल शर्मालगायतका कलाकारको मुख्य अभिनय रहेको छ । सानै उमेरमा चलचित्रका निर्देशक रुपमा देखिएका सौगातको आफ्नो नाम ‘विश्व रेकर्ड’ मा लेखाउने तयारी गरिएको छ । यसअघि भारतका ९ बर्षका एक बालकले चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका थिए । उक्त रेकर्ड तोड्दै सौगात अहिले विश्वकै कम उमेरका चलचित्र निर्देशक बन्ने दौडमा छन्, जसका लागि मिडियाकर्मीले पनि साथ दिनुपर्ने उनका बाबु गजितले बताएका छन् ।

Comments