जरिन खान र कट्रिना कैफ
कट्रिनाको जस्तै अनुहार भएकी जरिन खानले पनि बलिउडको स्वाद चाखिसकेकी छिन् । करिनासँग ब्रेकअप भएपछि उनका पूर्वप्रेमी सलमान खानले जरिनलाई ‘वीर’ फिल्ममार्फत डेब्यू गराएका थिए । कट्रिनासँग अनुहार मिलेकै कारणले सलमानले उनलाई आफूसँग काम गर्ने अवसर दिलाएको चर्चा त्यतिबेला खूब चलेको थियो । सलमानले सुरुमा कट्रिनालाई फिल्ममा काम गर्न आग्रह गरे पनि कट्रिनाले अस्वीकार गरेकी थिइन् । त्यसपछि उनले उनीजस्तै अनुहार भएकी युवतीलाई खोजीकन पत्ता लगाएर फिल्म खेलाएका थिए । आफ्नो अनुहार कट्रिनासँग मिलेको बारे जरिन भन्छिन्, ‘कट्रिना दिदी कति धेरै राम्री हुनुहुन्छ । म त्यति राम्री कहाँ छु र ? मलाई लाग्दैन कि म दिदीजस्तो देखिन्छु । फेरि म आफ्नै परिचय बनोस् भन्ने पनि चाहन्छु ।’
स्नेहा उलाल र ऐश्वर्या राय
एश्वर्या रायको जस्तै अनुहार र जीउडाल भएकी स्नेहा उलाललाई पत्ता लगाउने व्यक्ति पनि सलमान खान नै हुन् । ऐश्वर्या रायसँगको ब्रेकअपपछि उनले उनीजस्तै अनुहार भएकी युवती खोज्ने क्रममा स्नेहालाई पत्ता लगाएका थिए ।
स्नेहा सलमानको सम्पर्कमा आएपछि उनले फिल्म ‘लकी’मा उनलाई आफूसँगै काम गर्ने अवसर दिलाएका थिए । ‘लकी’ सुपरफ्लप भए पनि सलमानले स्नेहालाई अझै प्रमोट गर्ने इच्छा देखाए र भाइ सोहेल खानको फिल्म ‘आर्यन’ फिल्ममा काम गराए । तर, यो फिल्म पनि फ्लप भयो । त्यसपछि उनी ‘काश मेरे होते’ फिल्ममा देखापरिन् । तेस्रो फिल्म पनि फ्लप भएपछि उनी तेलगू फिल्ममा काम गर्न गइन् । अहिले उनी तेलगु फिल्ममा राम्रोसँग जमेकी छिन् ।
हर्मन बवेजा र ऋतिक रोशन
आफ्नो अनुहार अभिनेता ऋतिक रोशनसँग मिल्दोजुल्दो रहेको कुरालाई हर्मनले भजाउन चाहे र उनले ‘लभ स्टोरी २०५०’ को नाममा बनेको बिग बजेट फिल्ममार्फत बलिउडमा ऋतिकले जस्तै करिअर बनाउन चाहे । यो फिल्म उनका बाबु ह्यारी बवेजाले बनाएका थिए । फिल्म सुपरफ्लप भयो । तर, फिल्ममा काम गर्दाताका अभिनेत्री प्रियंका चोपडासँगको उनको अफेयरले भने ठूलो चर्चा पायो । त्यसपछि उनले एकदुई फिल्ममा ट्राई गरे । पार नलागेपछि उनी अहिले घरमै थन्किएका छन् ।
तपाईंको अनुहार ऋतिकसँग मिल्छ नि भनी प्रश्न गर्दा उनी भन्छन्, ‘मैले के गर्नु त ? मेरो बाबुआमाले मलाई यस्तै अनुहार दिए । मैले प्लास्टिक सर्जरी गरेको होइन क्यारे ।’
देव आनन्द र ग्रेगोरी पेक
सन् ५० को दशकमा बलिउडमा अभिनेता देव आनन्दको जगजगी थियो । त्यतिबेला उनका लाखौँ फ्यान थिए । धेरैले उनको अनुहार हलिउडका ग्रेगोरी पेकसँग मिल्दोजुल्दो रहेको बताएका थिए । अनुहारमात्र नभई हाउभाउ पनि मिल्दोजुल्दो रहेको चर्चा भारतमा त्यतिबेला खूब चल्ने गथ्र्यो । तर, दुवैले यसबारे सार्वजनिक रूपमा कहिल्यै टिप्पणी गरेको सुनिएन ।
टम ह्यांक्स र आमिर खान
हलिउडका टम ह्यांक्स र बलिउडका आमिर खानबीच धेरै कुरामा समानता रहेको बताउने थुपै्र छन् । उनीहरूको अनुहार कताकता मिल्छ पनि । साथै, दुवैले आ–आफ्ना फिल्म उद्योगमा ‘मिस्टर पर्फेक्सनिस्ट’को अनौपाचारिक उपाधि पाएका छन् । यी दुवै अभिनेता थोरै फिल्म खेल्छन्, तर एकदमै राम्रामात्रै खेल्छन् । दुईबीचको अभिनयमा पनि केही समानता पाइन्छ ।
सोनु सुद र अमिताभ बच्चन
सलमानले फिल्म ‘दबंग’मा सोनु सुदलाई काम गराएपछि उनी अलिक बढी चिनिन थाले । उनको अनुहार अभिनेता अमिताभ बच्चनसँग मिल्दोजुल्दो छ । ‘दबङ’ बाहेक उनले ‘जोधा अकबर’, ‘युवा’, ‘आशिक बनाया आपने’ लगायत फिल्ममा पनि काम गरका छन् ।
अमिताभसँग अनुहार मिलेकै कारण उनलाई फिल्म ‘युवा’मा अभिषेकको दाजुको भूमिकामा उतारिएको थियो । अमिताभ पत्नी जया बच्चनलाई पनि सोनुको अनुहार आफ्नो पतिसँग मिल्दोजुल्दो लाग्छ । ‘म सोनुलाई माया गर्छु । उसलाई देख्दा जवान छँदाका मेरा पतिको सम्झना आउँछ,’ उनी भन्ने गर्छिन् ।