हमजाएगा र अम्बरेको भीडन्त (ड्राइभरदेखि राजा बन्ने सपनासम्म)
screennepal
प्रकाशित: २०७१, ४ मंसिर बिहीबार
no img

काठमाडौं । ‘हमजाएगा’, जोकको प्रशंगमा यो नाम धेरैको मनमा आउँछ अर्थात् हमजाएगा भन्नेवित्तिकै मान्छेहरु जोकर हमजाएगालाई सम्झिने गर्छन । कुनै सयम दार्जिलिङ, खर्साङतिर गाडी चलाउने दलबहादुर गुरुङ नै ‘हमजाएगा’ भनेर चिनिएका हुन् । उनी यात्रु हँसाउन खप्पिस थिए । उनी यति चर्चित बनेँ कि पूर्वतिर हमजाएगा नसुन्ने सायदै होलान् । हो, हमजाएगाकै विषयमा निर्माण गरिएको चलचित्र ‘हमजाएगा’ शुक्रबारदेखि सिनेमा हलमा दर्शकलाई हँसाउन आउँदै छ । नामै काफी छ, ‘हमजाएगा’ कमेडी चलचित्र हो ।

Hamjayega-posterयसै चलचित्रमार्फत मोडल तथा नृत्यांगना पार्वती राई अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् । करिब हजारको हाराहारी गीतमा मोडलिङ गरिसकेकी पार्वतीको को–एक्टरका रुपमा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ देखिँदैछन् । मुनाल फिल्मस्को ब्यानरमा तयार भएको यस चलचित्रको निर्देशन सुरेन्द्र पुनले गरेका हुन् । निर्माणपक्षका अनुसार चलचित्रको नाम ‘हमजाएगा’ दलबहादुरको जीवनीबारे नभएर प्रभावित मात्र हो । चलचित्रमा विल्सन र पार्वतीका अलावा बाबु बोगटी, ऋचा धिताल, मनोज आरसी, रामचन्द्र अधिकारी, रेशम फिरिरी, प्रज्वल गिरी, रवि गिरीलगायतको पनि मुख्य अभिनय छ । यस चलचित्रलाई टंक गुरुङ, सुर्य ब्लोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

5

यसैगरी, आजैबाट चलचित्र ‘श्री ५ अम्बरे’ दर्शकमाझ आउँदै छ । सडक बालबालिकाको कथामा आधारित यस चलचित्रको निर्देशन दीपा बस्नेतले गरेकी हुन् । चलचित्रमा अभिनेता सौगात मल्ल श्री ५ अम्बरेको भुमिकामा देखिँदैछन् ।  निर्देशक दीपाका अनुसार चलचित्रमा सडकबालबालिकाको राजा बन्ने सपनालाई रोचक ढंगले प्रस्तुत गरिएको छ । दीपाले यसअघि ‘अन्तराल’ निर्देशन गरेकी थिइन् ।
जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको ‘श्री ५ अम्बरे’ डिसिएनको वितरणमा सिनेमा हलमा आएको हो । अभिमन्यू निरवीको लेखन रहेको यस चलचित्रमा सौगातसँगै अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ भने प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमवुद्ध, दिवाज राईलगायतको अभिनय हेर्न सकिन्छ ।

Comments