‘ छोराले मलाई फर्काए’ (निर्देशक शम्भुसँग Exclusive कुराकानी)
screennepal
प्रकाशित: २०७१, २६ कार्तिक बुधबार
no img

              ‘रंग बैजनी’मा तीन चीज नयाँ

shambu pradhan

१२ वर्षको अन्तरालमा निर्देशक शभ्मु प्रधान दर्शकलाई रंग बैजनी छर्न आउँदैछन् । कुनै समयका चर्चित निर्देशक प्रधान चलचित्र ‘रंग बैजनी’मार्फत कम्ब्याक भएका छन् । यो चलचित्र १९ मंसीरबाट देशव्यापी रिलिज हुँदै छ । ‘रंग बैजनी’ अर्थात् पोजेटिभ कलर, निर्देशक प्रधान यसै भन्छन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको रंग बैजनी देख्न सकिन्छ । ‘१६ वर्षे जोवन’, ‘सुन चाँदी’लागायत दर्जनभन्दा बढी सफल चलचित्र निर्देशन गरेका प्रधानले ‘रंग बैजनी’मा दर्शकलाई नयाँ के पस्कँदै छ त ? ‘कथा नयाँ छ, अरु सबै एउटै । फिल्ममा नयाँ भनेकै कथा हो’ प्रधानले भन्छन, ‘मेरो चलचित्रमा तीन चीज नयाँ छ, त्यो हो, हिरो, संगीतकार र छायांकार ।’ यस चलचित्रलाई उनकै छोरा सशांक प्रधानले खिचेका हुन् भने दिक्पाल कार्की मुख्य हिरोमा डेब्यु गर्दैछन् । नुतन प्रधानको कथा तथा निर्माण रहेको ‘रंग बैजनी’बारे निर्देशक प्रधानसँग एमपी सुब्बाले गरेको कुराकानी ।

shambu

नुतन स्टुडियो अनामनगरमा निर्देशक शम्भु प्रधान । तस्बिर/विशाल राई

डेढ दशकपछि ‘रंग बैजनी’ लिएर आउँदै हुनुहुन्छ । चलचित्रमा नयाँ के पस्किनु भएको छ ?

नयाँ केही छैन । चलचित्रको कथा नयाँ छ । म आफ्नो चलचित्र फरक खालको छ भन्दिनँ, म्युजिक राम्रो छ र पर्फमेन्स पनि राम्रो छ । एउटा चलचित्र राम्रो हुन यति नै काफी छ ।
१२ वर्षको अन्तरालमा निर्देशनमा कम्ब्याक हुनुभएको छ नि ?
पुरानो निर्देशकले पुरानै कथामा चलचित्र बनायो होला भनेर सोच्नु नै गलत हो । मैले अहिलेका दर्शकको भावना बुझेर चलचित्र बनाएको छु ।
एक दशकअघि नेपाली चलचित्र रोनाधोनामै केन्द्रीत थियो, तर अहिले केही परिवर्तन आइसकेको छ नि ?
अहिले पनि पारिवारिक चलचित्र चल्छ । हाम्रोमा हलिउड शैलीको चलचित्र बनाउने समय आएको छैन । नेपाली दर्शक इमोसनल छन्, त्यसैले यहाँ इमोसन चलचित्र नै चल्छ ।
करिब १२ वर्ष ब्याक हुनुभयो, ग्यापको समय के गर्नुभयो ?
ग्याप हुनुको कुनै कारण छैन । त्यो बीचमा केही सिरियलहरु बनाएँ । र, स्टुडियो बनाएँ । स्टुडियो बनाउँदा समय पनि गयो, पैसा पनि गयो । छोरी ईश्वरीको बिहेका लागि अमेरिका जाँदा पनि केही समय खर्चियो । म चलचित्र क्षेत्रमा कम्ब्याक हुनुको एउटा कारण छोरा सशांक पनि हो । सशांकले अमेरिकामा सिनेमाटोग्राफी अध्ययन गरेको हो । योृ चलचित्र उनैले खिचेका हुन् । र, अर्को कुरा दर्शकको मायाले गर्दा पनि पुनः यस क्षेत्रमा आएँ । विदेश गएपछि मैले थाहा पाएँ कि, मलाई चलचित्र क्षेत्रले ऋणी बनाएको रहेका छ । त्यसैले त्यसलाई रि–फ्रेस गर्नलाई पनि चलचित्र क्षेत्रमा फर्केको हुँ ।
लामो समयपछि चलचित्र क्षेत्रमा फर्किँदा के फरक पाउनुभयो ?
मैले मिडियामा प्रोगेस भएको पाएँ । अहिलेको जेनेरेसनमा मिडिया एकदमै प्रभावकारी बनेको छ । छिन छिनमा अपडेट छ । यो हाम्रो लागि एकदमै राम्रो कुरा हो । यहाँ अहिले हामीले राम्रो कुरा पस्किनु मात्र पर्छ, अरु बाँकी सबै मिडियाले गर्छ ।
तपाईलाई चलचित्रको नाम अप्ठ्यारो राखेजस्तो लागेको छैन ?
छैन । रंग बैजनी भनेको पर्पल कलर हो । पर्पल कलर भनेको पोजेटिभ रंग हो । चलचित्रमा गरिमा, सुमिना र दिक्पालको रंग बैजनी छ ।
यो सामान्य दर्शकले बुझ्न सक्छन होला ?
चलचित्र हेर्दै गएपछि बुझ्न पनि सक्छन् र नबुझ्न पनि । तर, बुझ्नेलाई गाह्रो छैन । र अहिलेका  दर्शक त्यति साह्रै नबुझ्ने पनि छैनन् जस्तो मलाई लाग्छ ।
चलचित्र ‘सन्यास’ पछि हराउनुभएको थियो । त्यतिखेर निर्देशक शम्भु प्रधानले निर्देशनबाट पनि सन्यास लिए भन्ने हल्ला चलेको थियो नि ?
त्यो एउटा संयोग जस्तै भयो । चलचित्र क्षेत्रबाट हराउँछु भनेर मैले सन्यास बनाएको होइन  । तर, त्यस्तै भयो ।
चलचित्र करिब चार दशक बिताइसक्नुभएको छ । के पाउनुभयो ?
पैसा भन्ने अलगै कुरा हो । सबैभन्दा ठूलो कुरा माया पाएँ । पैसा नै कमाउने सोच भएको भए ५० लाख चलचित्रमा किन खर्च गर्थे र ? बैंकमा राख्यो भने ब्याज आइहाल्थ्यो नि । त्यसैले दर्शकको माया पाउन चलचित्रमा लागेको हुँ ।
चलचित्रमा नयाँ कलाकारलाई अवसर दिएर चुनौती मोलेँजस्तो लाग्दैन ?
पटक्कै लागेको छैन । यहाँ चल्ने भनेकै नयाँ हो । पुराना कलाकारलाई त सातैपिच्छे दर्शकले हेरिरहेका छन् । र, चलचित्र हेर्दा नयै हेनुपर्छ भन्ने मेरो मान्याता हो ।

Comments