फोटोकपी पसलमा काम गर्थे कमेडियन कपिल
screennepal
प्रकाशित: २०७१, २० भाद्र शुक्रबार
no img

भारतीय टीभी च्यानल ‘कलर्स’बाट प्रसारण हुने सिरियल ‘कमेडी नाइट्स विद कपिल’ का माध्यमले धेरै नेपालीका घरमा पुगेका छन्, कपिल शर्मा । लाखौँ मानिसलाई उनले हँसाएका छन् । उनी सफल हास्य कलाकार हुन् । तर, सफलताको शिखरसम्म आइपुग्न उनले निकै संघर्ष पनि गरेका छन् ।
कपिलको जन्म पञ्जाब, अमृतसरमा प्रहरीको सरकारी क्वार्टरमा भएको थियो । उनका बुवा पञ्जाब पुलिसमा थिए । स्कुलबाटै कपिलले अभिनयको सुरुवात गरेका थिए । तर, त्यतिबेला उनलाई अभिनयमा भन्दा पनि गायनमा बढी रुचि थियो । कलेज पुग्दा उनको गीत गाउने सोख ‘प्यासन’ मा बदलियो । उनले बलिउडको सफल गायक बन्ने सपना देखे । तर, समयले उनलाई कमेडियन बनाइदियो ।
kapil-sharma-0a
कपिलको कलेज जीवन पढाइभन्दा नाटकमा बढी बित्यो । अमृतसरमा उनले करिब १० वर्ष संघर्ष गरे । त्यतिबेला उनले ‘लोकल शो’ पनि गरे । जुनसुकै कार्यक्रममा पनि उनी गाउन वा कमेडी गर्न पुगिहाल्थे ।
सन् २००४ मा क्यान्सरपीडित बुवाको मृत्युपछि उनको परिवार आर्थिक समस्याबाट गुज्रेको थियो । कक्षा १० मा पढ्दाताका उनले पकेटमनीका लागि पीसीओमा जागिर खाएका थिए भने फोटोकपी पसलमा समेत काम गरेका थिए । यसरी साना–तिना काम गरेर उनले घरखर्च चलाउँथे ।
पछि एउटा पञ्जाबी च्यानल ‘एमएच वान’ को कमेडी शोमा उनले आफ्नो क्षमता देखाउने अवसर पाए । उनी शोका सेकेन्ड रनरअप भए । यो शो कपिलको जीवनमा कोसेढुंगा साबित भइदियो । यहीँबाट उनको कमेडी यात्राले गति लियो । उनको गायन सोख पछि छुट्यो र कमेडी हाबी हुँदै गयो ।
आज कपिल भारतका चर्चित कलाकार हुन् । उनको चर्चा चारैतिर फैलिएको छ । तर, १२ वर्षअघि उनी अमृतसरमा थिएटर कलाकारका रूपमा संघर्ष गरिरहेका थिए । संघर्षका दिनमा आफूले साथीहरूसँग घण्टौँ ‘प्य्राक्टिस’ गरेको उनी अहिले पनि सम्झन्छन् । एक अन्तरवार्ताका क्रममा उनले भनेका थिए– ‘दश मिनेटको स्क्रिप्टका लागि पनि म घण्टौँ प्य्राक्टिस गर्थें ।’
स्टार वान च्यानलबाट प्रसारित ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ ले कपिलको जीवनलाई नयाँ मोड दियो । स्ट्यान्डअप कमेडीका लागि प्रख्यात यस सिरियलको तेस्रो सिजनको अडिसन हुँदा कपिल पनि अडिसनका लागि पुगे । तर, उनी छानिएनन् ।
त्यस अडिसनमा उनका साथी राजु भने छानिए । जो अहिले पनि ‘कमेडी नाइट्स विद कपिल’मा नोकरको भूमिकामा छन् । हार नमानी कपिल फेरि अडिसन दिन दिल्ली पुगे । त्यहाँबाट भने उनी छानिए र ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को उपाधिसमेत जिते । यस घटनाबारे बताउँदै अन्तरवार्तामा उनले भने, ‘मलाई त्यतिबेला रिजेक्ट गर्ने मान्छेलाई आजभोलि म खूब जिस्काउँछु ।’ लाफ्टर च्यालेन्जको उपाधि जितेपछि उनी अगाडि बढेका बढ्यै भए ।।
पछि उनले ‘कमेडी नाइट्स विद कपिल’ शो बनाउने सोच बनाए । एक अन्तरवार्तामा उनले भनेका थिए– ‘मेरो मनमा एउटा कमेडी शो बनाउने सोच पलायो । एउटा पार्टी चलिरहेको बेला मैले यो योजना साथीहरूलाई सुनाएँ,’ उनले भने, ‘पार्टी सकिँदा त्यहाँ जो–जो साथी बसेका थिए, तिनै साथी शोमा छन् ।’ उनको कमेडी शो बिस्तारै लोकप्रिय हुँदै गयो । तर, लोकप्रियता हासिल गरिरहेका कपिललाई त्यति बेला झट्का लाग्यो जब उनको ‘सेट’ मा आगो लाग्यो । जसबाट उनले धेरै नोक्सानी बेहोर्नुप¥यो ।
आगोको नोक्सानीबाट गुज्रिरहेका कपिललाई तब अर्को झट्का लाग्यो, जब सर्भिस ट्याक्स विभागले उनीमाथि ६५ लाख भारु कर चोरी गरेको आरोप लगायो । यसबाट दुःखी भएका कपिलले पत्रकार सम्मेलन गर्दै भने, ‘‘ट्याक्स चोर’ को आरोपबाट म आहत छु । म चोर होइनँ ।’ आफूले आधा कर तिरेको र आधामात्र तिर्न बाँकी रहेको कुरा उनले पत्रकारसामु स्पष्ट पारेका थिए ।
लाखौँ दर्शकका अनुहारमा हाँसो ल्याउने कपिल बेला–बेलामा विवादमा तानिइरहन्छन् । आफ्नो शोमा गर्भवती महिलाको मजाक उडाएको आरोपमा उनलाई भारतको महिला आयोग र महिला संगठनले नोटिससमेत पठाएका थिए । यसबाहेक शोकी ‘गुत्थी’ (सुनील ग्रोबर) सँगको खटपटदेखि पैसा लिएर मात्र दर्शकलाई शोमा इन्ट्री गर्न दिने जस्ता विभिन्न विवादमा कपिल तानिएका छन् ।
यति हुँदाहुँदै पनि कपिलले सयभन्दा बढी एपिसोड पूरा गरिसकेका छन् । कलाकार, खेलाडीलगायत थुप्रै सेलिब्रिटी उनका शोमा आइसकेका छन् । सानो पर्दामा आफूलाई ‘कमेडी किङ’ का रूपमा स्थापित गरिसकेका कपिलले यशराज ब्यानरका फिल्ममा समेत काम गर्ने भएका छन् ।

Comments