पढन्ते बलिउड सेलिब्रिटीहरु
screennepal
प्रकाशित: २०७१, १४ भाद्र शनिबार
no img

पढाइका मामलामा कलाकारहरु पछाडि हुन्छन् भन्ने आम मान्यता हुन्छ । कति नेपाली कलाकार त ‘फुर्सद भए पो पढ्नु’ भन्दै अन्र्तवार्ता दिन्छन् । बलिउडका सेलिब्रिटी किताब पढ्न रुचाउँछन् । जति व्यस्त भए पनि किताबका पाना पल्टाउन उनीहरू बिर्संदैनन् । उनीहरूका साथमा एउटा किताब जहिले पनि हुन्छ । कतिपय बलिउडकर्मीका लागि किताब पढ्नु सबैभन्दा राम्रो ‘टाइमपास’ हो । ज्ञान हासिल पनि हुने यो ‘टाइमपास’ गर्ने तरिका नेपाली कलाकारले पनि अपनाए जाती हुन्थ्यो ? को सेलिब्रिटी कति पढ्छन् ?

aamir-khan-priyanka-chopra-post_1360391607

इरफान खान
इरफान खान असाध्यै पढ्ने अभिनेता हुन् । कथाकार उदयप्रकाशका प्रशंसक हुन् उनी । झुम्पा लहिरी पनि उनलाई मन पर्ने लेखिका हुन् । उनी भारतका विभिन्न शहरमा हुने पुस्तक प्रदर्शनीमा पुगिरहेका हुन्छन् ।
आमिर खान
घर पुग्नेबित्तिकै टीभीको रिमोटको साटो आमिर किताब पढ्न रुचाउँछन् । श्रीमती किरणका अनुसार ट्वाइलेटमा धरि उनी किताब बोकेर जान्छन् । लियो टल्सटोय उनका प्रिय लेखक हुन् ।

सैफ अली खान
सैफ अली खान बलिउडमा ‘बुक लभर’ का रूपमा चिनिन्छन् । उनलाई रहस्यमय कथा मन पर्छन् । ‘द आइल्यान्ड अफ द डे बिफोर’ उनलाई सबैभन्दा मन परेको उपन्यास हो । उनलाई मन पर्ने अर्काे उपन्यास ‘एटलस स्रग्ड’ हो । यसमाथि फिल्म बनाउने सोचमा छन् उनी ।
दीपिका पादुकोण
दीपिका सत्य घटनामा आधारित किताब र उपन्यास पढ्न रुचाउँछिन् । ‘द काइट रनर’ उनलाई मन पर्ने उपन्यास हो । यसबाहेक उनलाई लुइजा मे अल्कटको उपन्यास ‘लिटिल वुमेन’ पनि मन पर्छ ।

प्रियंका चोपडा
प्रियंकालाई प्रेममा आधारित उपन्यास मन पर्छन् । अमेरिकी लेखिका निकोल क्राउसको ‘द हिस्ट्री अफ लभ’ उनको मन पर्ने उपन्यास हो । उनलाई विलियम शेक्सपियरका सबै नाटक मन पर्छन् । तीमध्ये ‘रोमियो जुलियट’ उनलाई सबैभन्दा प्रिय लाग्छ । उनी सिड्नी सेल्डनका कथा पनि स्वाद लिएर पढ्छिन् ।
रणदीप हुड्डा
रणदीप हरेक दिन कुनै न कुनै किताब अवश्य पढ्छन् । उनलाई जीवनी र संस्मरण पढ्न असाध्यै मन पर्छ । फ्रान्सिसी लेखक हेनरी चेरियरको संस्मरण ‘पेपिलोन’ उनलाई खूब मन पर्छ । पाओलो कोएल्होको ‘दी अल्केमिस्ट’ पनि उनको प्रिय किताब हो ।
अरबाज खान
अरबाज जस्ता पनि किताब पढ्न रुचाउँछन् । तर, उनलाई सबैभन्दा धेरै मन पर्ने भनेको मारियो पुजोको ‘द गडफादर’ हो । उनले यसलाई दर्जनौँचोटि पढिसके ।
बबी देओल
बबी गम्भीर किताब कहिल्यै पढ्दैनन् । हल्काफुल्का किताब भने पढिरहन्छन् । भूतप्रेतका कथा उनलाई औधी मन पर्छन् ।

Comments