काठमाडौं । ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को प्रतियोगीले आ–आफ्नो प्रतिभा कौसल देखाएका छन् । अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा रहेका ५० प्रतियोगीले शनिबार आयोजित ‘प्रि–जजिङ राउण्ड’अन्र्तगत प्रतिभा देखाएका हुन् । आदिवासी जनजाती समुदायका युवतीको प्रतिभा प्रस्फुटन तथा भाषा, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिद्वारा पहिलोपटक आयोजना हुन गइरहेको यस कल्चरल सौन्दर्य प्रतियोगितामा देशभरीका ५० आदीवासी युवतीले स्पर्धा गर्दैछन् । उनीहरुले यस ‘प्रि–जजिङ राउण्ड’मा गायन, नृत्य, अभिनयलगायतका कला प्रस्तुत गरेका थिए ।
अन्तिम स्पर्धाको दिन घोषणा गरिने यस ट्यालेन्ट राउण्डमा मिलन शाक्य, लक्ष्मण महर्जन, जिवेश्वरलाल श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठ, मञ्जु श्रेष्ठ, संजोग लाफामगर, गायक निर्णय श्रेष्ठ, ब्युटिसियन सुष्मा महरा, गायक राजन राईलगायतका व्यक्तित्व निर्णायक थिए ।
रोहिया महर्जनको डान्स कोरियोग्राफीमा हुने ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को अन्तिम स्पर्धा चैत १३ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । प्रतियोगिताको शीर्ष विजेताले आनन्द ज्वलर्सबाट निर्मित मयुर अंकित चाँदीको ताज प्राप्त गर्ने आयोजकले जनाएको छ ।