काठमाडौं । पूर्वको चर्चित मेला हो त्रिशाली । यो मेला पाँचथर लिम्बूवानको ऐतिहास ठाउँ यासोकमा तीन वर्षको अन्तरमा लाग्ने गर्छ । त्यसैले यो मेलालाई त्रिशाली भनिएको हो । यही चर्चित मेलाबारे गीतकार इशा लावतीले गीत लेखेकी छन्, ‘बैशाखे त्रिशाली’ ।
इजरायलमा बस्दै आएकी गीतकार लावतीको शब्दरचनामा गायक राजु आङ्देम्बेले आफ्नो सुरिलो स्वर दिएका छन्, जो हङकङमा बस्दै आएका छन् । इजराजलमा रहेकी गीतकार लावती र हङकङमा रहेका गायक आङ्देम्बेको यो प्रयासलाई म्युजिक भिडियोमा ल्याएको छ । लोकेन साँवाले निर्देशन गरेको ‘बैशाखे त्रिशाली’ गीतको म्युजिक भिडियोमा पत्रकार मिलन लिम्बू र सिर्जना निङ्लेखु सुब्बाले मोडलिङ गरेका छन् । गीतको भावअनुसार म्युजिक भिडियोको छायांकन पनि यासोकस्थित कुम्मायक–कुसायकमा गरिएको छ । गीतमा लिम्बू कला, सस्कृति र भेषभूषालाई पनि प्रवद्र्धन गरिएको छ । दिनेश माङमुको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेका यस गीतको म्युजिक भिडियोलाई पहिलोपटक स्क्रीन नेपालमार्फत रिलिज गरिएको हो ।